दक्षिण अफ्रिकी सेनाको विमानमा आगलागी

Image: Twitter/Mswanyama,KG

पूर्वी डीआर कङ्गोे शहर गोमामा बिहीबार अवतरण गर्ने क्रममा ६७ यात्रुसहित रहेको दक्षिण अफ्रिकी सेनाको विमानमा आगलागी भएको छ।  

विमानमा कुनै हताहत भने नभएको संयुक्त राष्ट्रसंघले जनाएको छ। प्रजातान्त्रिक जनगणतन्त्र कङ्गोको बेनीबाट गोमाका लागि उडान गर्दै थियो।  

अवतरणका क्रममा वायाँ इन्जिनमा आगलागी भएपछि विमानस्थलमा तयारी अवस्थामा रहेका दमकलले आगलागीलाई तत्काल नियन्त्रणमा लिन सफल भएको राष्ट्रसङ्घको कङ्गोस्थित सहायता समूहले बताएको छ।  

कङ्गोस्थित राष्ट्रसंघीय समूहले भन्यो,'विमानमा चालकदलका आठ सदस्य र ५९ यात्रीहरू थिए। सबैजनालाई सुरक्षित विमानबाट बाहिर निकालिएको छ। कसैलाई पनि ठूलो चोटपटक लागेको छैन।'

विमानमा आगलागी भएपछि केही समय विमानस्थलमा सेवा अवरूद्ध भएको भएपनि धावन मार्ग पुनः सञ्चालनमा आएको छ।

द्वन्द्वग्रस्त उत्तरी किवु प्रान्तको बेनीमा तैनाथ दक्षिण अफ्रिकी शान्ति सेनाको सहयोगका लागि सेवा दिँदै आएको विमानमा सामान्य क्षति भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त सैनिक विमान तत्कालिन सोभियत संघमा निर्मित आन्टोनोभ हो।
 

प्रकाशित मिति: : 2020-01-10 10:38:21

प्रतिकृया दिनुहोस्