हृदय पगाल्यो तिलकको आँसुले!(फाेटाे फिचर)

हेमन्त विवश

काठमाडौं

सुदूरपश्चिमबाट काठमाडौंमा आई गीत रेकर्ड गर्दादेखि गुरू खोज्दै गुरूका ढोका चहार्दै जाने क्रममा कति ठाउँबाट फर्किए उनी। धेरैले चाहेनन् उनलाई शिष्य बनाउन। संगीतको खासै ज्ञान नभइकनै २०५३ सालमा ल्याएका थिए पहिलो एल्बम आँसु।

जो निकै लाकप्रिय बन्यो। उनलाई थाहा थिएन रेडियोमा किन गीत बज्छन् कसरी बज्छन् अनि कहाँबाट बज्छन् भन्ने।

उनको मनमा एउटै प्रश्न उब्जिन्थ्यो कलाकार कसरी बन्न सकिन्छ। त्यसपछिका दिनमा उनी तल्लिन रहे संगीत साधनामा। संगीतमै मास्टर्स उत्तीर्ण गरे। 

लामो समयदेखि गहिरो साधनामा तल्लिन गायक संगीतकार तिलकसिंह पेलाको सुनिरहूँलाग्ने कालजयी गीतहरुको संग्रह निर्जन किनार आँसु भाग ३ सार्वजनिक भएको छ।

कयौं हृदयलाई आफ्नो सुमधुर स्वर र संगीतका माध्यमले स्पर्स गर्न सक्ने क्षमता भएका पेला इमानदार र स्वाभिमानी मनुवा पनि हुन्। उनी कहिल्यै कसै परिस्थितिमा पनि सम्झौता गर्दैनन् इमानदारिता र स्वभिमानमा आँच आउने किसिमले । बरु भोकै बस्न तयार भैदिन्छन् । रबिन्द्रनाथको एकेला चलो, एकेला चलो, एकेला चलो  भन्ने भनाइलाई आत्मसाथ गर्दै आएका छन् उनी । आफ्नो ढोकाबाट फर्काउने ती कतिपय गुरुहरुप्रति उनी नतमस्तक छन् अहिले त्यसैले त भन्छन – उहाँहरुले नफर्काइ दिएको भए आज म यत्तिको हुने थिएन ।

काठमाडौं आएको चार वर्षपछि भेटाए, गुरू धनबहादुर गोपालीलाई । तिनै गुरुकोमा पढेर उनले एमम्युज गरे । फेरि बनारस गई गुरु देवाशीषसँग दुई वर्ष संगीत सिके । अहिले पनि समय मिलाएर पुग्छन् बनारस । काठमाडौंको बनस्थली चोकभन्दा भित्रपट्टि श्रीकृष्ण गुरुकुल पाठशाला चलाएर साधनारत तिलकसँग सिक्ने शिष्यहरूको संख्या बाक्लै देखिन्छ । 

 भावुक र संवेदनशीलहरूका लागि कसै गरे पनि एक्लो जीवन हुँदो रहेनछ । उनीकहाँ भीड लागेकै हुन्छ भेटघाट गर्नेदेखि संगीत सिक्नेसम्मको । बहुप्रतिभाका धनी पेला एक कुशल गायक, संगीतकारका साथै असल गुरुका रुपमा परिचित छन् । उनले नयाँ एल्बम आँसु भाग तीन  बजारमा ल्याएकाछन् ।उनी उपयोगी समाजका लागि अर्थपूर्ण अस्तित्वसँगै आँसुको कहानीमा पौडिएका साधक हुन् । उनको न कसैप्रति आश छ न त कसैप्रति रोष नै । मात्र गुनगुनाउँछन् एकान्तमा– निर्जन किनारसँग..... ।

यस पटकको एल्बम प्रकाशन यात्रामा सुदूरपश्चिमबाट काठमाडौंमा आई आफ्नो कला र क्षमता पर्दशन गरिरहेका अन्य प्रिय सहयोगी नामहरु पनि थिए संगसंगै। ती प्रिय अनि प्रतिभाशाली नामहरु हुन्-  सभासद कमल क्षेत्री, पत्रकार पदमराज जोशी, गीतकार कृष्णसिं पेला,गायक अराज केशव निर्देशक पराजन केसी, एवम् जनकसिंह, भिडयाे सम्पादक टेकेन्द्र शाह र बिनोद बम, चर्चित मोडेल सनम कठायत आदि।

थुप्रै शभचिन्तक र श्रोताहरुको साथ सहयोग पाइरहेका प्रिय गायक संगीतकार पेलालाई आगामी दिनमा शुखद एवम् सिर्जनशील यात्राका लागि शुभकामना सहित बधाई।

प्रकाशित मिति: : 2020-01-13 02:56:28

प्रतिकृया दिनुहोस्