मेक्सिकोमा थप २९ शव भेटियो

एजेन्सी

गुआडालाजरा

मेक्सिकोमा सामुहिक चिहान रहेको ठाउँबाट थप २९ ओटा शव निकालिएको छ। देशको पश्चिमी सहर गुआडालाजरामा ती शवहरु भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

संगठित अपराध गर्नेहरुबाट क्रुर हत्याको घटना भएको जनाइएको छ। त्यस ठाउँबाट गत नोभेम्बरदेखि अहिलेसम्म कुल ८० ओटा शव निकालिएको अधिकारीहरुले जनाएका छन्।

स्थानीय अनुसन्धानकर्ताहरुका अनुसार मृत्यु भएका मध्ये चार जनाको शव मात्रा आंशिक रुपमा चिन्न सकिने अवस्थामा रहेको छ।अहिले शव निकालिएको ठाउँदेखि २ सय ६० फिट टाढा पर्ने अर्को ठाउँमा पनि सामुहिक चिहान भेटिएको थियो।

त्यस ठाउँबाट गत डिसेम्बरमा कम्तीमा ५० भन्दा बढी शवहरु निकालिएको थियो। मेक्सिकोका विभिन्न ठाउँमा सामुहिक चिहान भेटिएका छन् भने ती ठाउँबाट सयौँको शवहरु निकालिएको छ। अरु पनि शवहरु खोज्ने र निकाल्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन्। 

प्रकाशित मिति: : 2020-01-14 21:32:35

प्रतिकृया दिनुहोस्