ऐन, नियमावली नबन्दा सञ्चालनमा समस्या
आफ्नै रेल सञ्चालन गर्ने नेपालको सपना अन्ततः पूरा हुने भएको छ । ढिलामा अबको दुई तीन महिनाभित्रै नेपालले रेल पाउँदै छ । यतिखेर नेपालका लागि भनेर अर्डर गरिएको रेल भारतमा तयार भएको छ । रेल निर्माणको जिम्मेवारी पाएको कोनकान रेलवे कर्पोरेसनले नेपालको रेल तयार गरेको हो ।
नेपाल–भारत जीटुजी सम्झौतामा निर्माण भएको रेलका लागि नेपाल सरकारले गत मे १०, २०१९ मा कोनकानसँग रेल निर्माणको सम्झौता गरेको थियो । कुल ८४ करोड ६५ लाखमा दुईवटा डेमो (डिजेल इलेक्ट्रिक युनिट) रेल निर्माण गर्ने गरी सम्झौता भएको थियो । त्यसका लागि सरकारले २० प्रतिशत मुबिलाइजेसन भुक्तानी समेत गरिसकेको छ । बाँकी ८० प्रतिशत लागत भने, दुईवटै रेल नेपाल भित्री सकेपछि मात्र भुक्तानी गर्ने गरी सम्झौता भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले रातोपाटीलाई बताए । त्यो पनि परीक्षणपश्चात मात्र भुक्तानी गर्नेगरी सम्झौता भएको उनको भनाइ छ ।