टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि महेन्द्रनगर चौमन्न चोकमा अवरोध

बिहीबार टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर चौमन्न चोकमा अवरोध सिर्जना गरेका छन्। उनीहरूले पूर्वपश्चिम राजमार्गको भाँसी क्षेत्रमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन्। 

मृतक अध्ययनरत जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीले शुक्रबार बिहानैदेखि आन्दोलन गरेका हुन्।  विद्यार्थीहरुले पीडित परिवारलाई न्याय, घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै आन्दोलन गरेको बताएका छन्। 

बिहिबार से१क ८८७ नम्बरको टिपरको ठक्करबाट दशरथचन्द नगरपालिका १ गुरुखोलाकी २० वर्षीया युवती रमिता भट्ट (रोशनी)को घटनास्थलमै ज्यान गएको थियो। 

साइकलमा सवार रमितालाई टिपरले ठक्कर दिएर पछाडिको पांग्राले टाउको किचिदिएको पत्यक्षदर्शीले बताएका छन्। स्थानीयले टिपर आतंक बढेको भन्दै टिपरमाथि ढुंगामुढा प्रहार गरेका थिए। 

स्थानीयको ढुंगामुढाबाट चार प्रहरी घाइतेसमेत भएका थिए। घाइते हुनेमा भगवती भट्ट, सन्तोषी जोशी, लोचन चन्द, गणेश बोहरा छन्। उनीहरूको महाकाली अस्पतालमा उपचार भइरहेको छ। 
 

प्रकाशित मिति: : 2020-01-25 01:56:02

प्रतिकृया दिनुहोस्