पूँजीगत खर्चको भुक्तानी दिन रामनवमी जसरी कुरिरहनुपर्ने अवस्था छैन: अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीगत खर्चको भुक्तानी दिन रामनवमी जसरी कुरिरहनुपर्ने अवस्था नरहेको बताएका छन्। 

नेपाल समुन्द्रपार निकासी पैठारी संघको ४०औं साधारणसभामा बोल्दै उनले पूँजीगत खर्च न्यून हुने गरेको सन्दर्भमा खतिवडाले जेठ असारतिर दिनुपर्ने भुक्तानी तत्काल दिन सम्पूर्ण मन्त्रालयलाई आग्रह गरिएको बताए। 

खर्चको विल प्राप्त हुनेवित्तिकै भुक्तानी दिने प्रक्रिया अघि बढाउन सबै मन्त्रालयहरुलाई आग्रह गरिएको उनले बताए। यस्तै, फरक सन्दर्भमा व्यवसायिक वातावरण बनाउन ब्याजदर स्थीर बनाउनुपर्ने मन्त्री खतिवडाले बताए। व्यवसायिक क्षेत्र सुधारका लागि भन्सार दर र अन्त शुल्क लगायतका बिषयलाई सरकारले सहजीकरण गर्ने उहाको आश्वासन छ।

पछिल्लो पटक राजश्व र आयात घटेको भन्दै खतिवडाले विद्युत र विद्युतीय सामानको आयात पनि कम आएको बताए।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पाम आयललाई भारत निकासी खुल्ला गर्न सरकारले सहजीकरण गर्नुपर्ने बताए। 

प्रकाशित मिति: : 2020-01-25 10:35:54

प्रतिकृया दिनुहोस्