देउवा र सिटौला पक्षका विद्यार्थीहरुबीच पार्टी कार्यालयमै गमला हानाहान

दीप सुवेदी

काठमाडाै‌ं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुबीच झडप भएको छ। अनसन बसिरहेको पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समुहमाथि सभापति शेरबहादुर देउवा पक्षका विद्यार्थीले आक्रमण गरेका हुन्।

सोमबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले अवरोध सिर्जन गरेपछि संस्थापन समूहसँग झडप भएको विद्यार्थी नेता अनुराग शाहले जानकारी दिए। 

‘अनसनरत विद्यार्थीमाथि आक्रमण भएकाे हाे। गमलाले लागेर केही साथीहरू हुनुहुन्छ। उहाँहरूलाई सानेपाको स्टार अस्पतालमा उपचारका लागि लगिएको छ,’ शाहले भने।

पूर्व महामन्त्री काफ्ले भाषण गर्दै गर्दा संस्थापन पक्षका विद्यार्थीले गमला प्रहार गरेको आरोप काफ्ले समूहले लगाएको छ। तर संस्थापन पक्षले भने सामान्य विवाद भएको दाबी गरेको छ।

नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने प्रावधान राखेपछि लामो समयदेखि काफ्ले नेतृत्वको समूह पार्टी कार्यालयमा रिले अनसनमा समेत बसेको छ। तर संस्थापन पक्ष र अनन्तुष्ट पक्षले विधान विपरित बढी उमेरका नेतालाई अध्यक्ष बनाउन लागेपछि तनाव बढेकाे हो।

सभापति शेरबहादुर देउवाले ५० वर्षीय राजीव ढुङ्गानालाई नेविसंघको नेतृत्व दिन लागेको भन्दै विद्यार्थीहरु असन्तुष्ट छन्।

कांग्रेस केन्द्रीय समितिको बैठक आजै बस्ने र नेवि संघको नेतृत्व चयन गर्ने कार्यक्रम रहेकाले विद्यार्थीहरु विरोध प्रदर्शन र समर्थनका लागि सानेपामा भेला भएका छन्।

प्रकाशित मिति: : 2020-01-28 03:44:17

प्रतिकृया दिनुहोस्