बग्दादस्थित अमेरिकी दूतावासमा तीनवटा रकेट प्रहार

एजेन्सी

बग्दाद
तस्बिर : एजेन्सी

आइतबार इराकको राजधानी बगदादमा अवस्थित अमेरिकी दूतावासमा तीन रकेट प्रहार गरिएको छ। हजारौं प्रदर्शनकारीले देशभर सरकार विरोधी प्रदर्शन गरिरहेको अवस्थामा सो आक्रमण भएको थियो। 

हालैका दिनहरुमा अमेरिकी सेना खटाइएको स्थान, दूतावास र इराकी सैन्य शिविरमा आक्रमणका घटनाहरु बढेको छ। यस आक्रमणको कुनै पनि समूहले हालसम्म जिम्मेवारी लिएको छैन। तर वासिङ्टनले इराकमा इरान समर्थित सैन्य गुटले यस्ता आक्रमणहरु गरेको दाबी गरेको छ। 

आइतबार दूतावासको खाना पकाउने ठाउँ र अन्य दुई वटा स्थानमा रकेट प्रहार भएको सुरक्षा स्रोतले एएफपी समाचार समितिलाई जनाएको छ। 

एक वरिष्ठ इराकी अधिकारीले कम्तीमा एक व्यक्ति घाइते भएको एएफपीलाई बताएका छन्। तर घाइतेको अवस्था कति गम्भीर हो र उक्त व्यक्ति अमेरिकी नागरिक वा मिशनमा कार्यरत इराकी स्टाफ सदस्य हुन या होइनन् भन्ने बारेमा पनि तत्काल पुष्टि भएको छैन। 

अमेरिकी विदेश मन्त्रालयले आइतबार इराक सरकारलाई ‘हाम्रो कुटनीतिक सुविधाहरुको रक्षा गर्न आफ्नो दायित्व पूरा गर्न’ आह्वान गरेको छ।
 
इराकी प्रधानमन्त्री अदेल अब्देल महदी र सभामुख मोहम्मद हलबुसीले यस घटनाको भत्र्सना गर्दै यसो अवस्था रह्यो  भने मातृभूमिलाई युद्धमा तान्ने जोखिम रहेको बताएका छन्। अमेरिका र इरानमा गत महिनाबाट शुरु भएको तनावको कारण बीचमा इराक पनि तानिएको छ। 

प्रकाशित मिति: : 2020-01-28 04:34:18

प्रतिकृया दिनुहोस्