न्यूजील्याण्डमा आमचुनाव गर्न प्रधानमन्त्रीको प्रस्ताव

एजेन्सी

वेलिङ्टन
तस्बिर : एजेन्सी

न्यूजील्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले आगामी सेप्टेम्बरमा आमनिर्वाचन गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री आर्डनले निर्धारित कार्यतालिकाभन्दा दुई महिना अघि नै चुनाव गर्ने मिति घोषणा गरेका हुन्। अब न्यूजील्याण्डको आमनिर्वाचन सेप्टेम्बर १९ मा हुनेछ। प्रधानमन्त्री आर्डनले दोस्रो कार्यकालका लागि आफूलाई सशक्त उम्मेदवार रहेको दाबी गरेका छन्।

चुनावको मिति घोषणा गर्दै ३९ वर्षीया प्रधानमन्त्री आर्डनले मेरो नेतृत्व र सरकारको वर्तमान नीतिलाई न्यूजील्याण्डका जनताले समर्थन गर्ने विश्वास लिएको बताए।

अन्तर्राष्ट्रिय रुपमा पनि निकै चर्चित प्रधानमन्त्री आर्डनले क्राइस्टचर्चमा भएको हत्या र ह्वाइट भोल्कानोमा भएको दुःखद घटनालाई संवेदनशील रुपमा सम्हाल्न सफल भएका थिए।

विदेशमा प्रधानमन्त्री आर्डनको लोकप्रियता कायमै रहे पनि स्वदेशभित्र भएको मतसर्वेक्षणमा कमजोर देखिएका छन्। सरकारको महत्वाकाँक्षी किवीबिल्ड परियोजना आशातित रुपमा अघि बढ्न नसकेपछि उनको चर्को आलोचना भइरहेको छ। यस योजना बमोजिम सस्तो लागतमा एक लाख घर निर्माण गर्ने भनिए पनि त्यो लक्ष पूरा हुन सकेको छैन। 

प्रकाशित मिति: : 2020-01-29 02:42:57

प्रतिकृया दिनुहोस्