मुस्ताङको ढुम्बा ताल जमेर बरफ

हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ सम्ले गाउँमा रहेको ढुम्बा ताल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ। ढुम्बा ताल ठ्याक्कै मुटुको आकारको भएकाले ‘हट सेप्ट लेक’ भनेर पनि चिनिन्छ।

मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने प्रायः पर्यटक ढुम्बा ताल घुम्न आउने गरेको वडा नं ५ का अध्यक्ष वीरेन्द्र थकालीले बताए। ‘पर्यटकको आकर्षणका कारण मुस्ताङको सदरमुकाम जोमसोमदेखि पाँच किलोमिटर पश्चिममा पर्ने ढुम्बा ताल दुई वर्षयता चर्चामा आउन थालेको छ।’ उनले भने। 

समुद्र सतहदेखि करिब तीन हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १५० मिटर र चौडाइ १०० मिटर छ। तालमा गएर पूर्वको नीलगिरि र पश्चिमको धौलागिरि हिमाल यस स्थानबाट देखिन्छ।
 
नीलो रङमा देखिने यो ताल हिजोआज जमेको छ। जमेको तालमा युवा तस्बिर खिचाउन जान थालेका छन्। जोमसोमदेखि ठिनीको बाटो अथवा जोमसोमदेखि स्याङको बाटो हुँदै ढुम्बा ताल पुग्न सजिलै सकिने उनले बताए।
      
पछिल्लो समयमा केही नेपाली चलचित्रमा समेत ढुम्बा तालको मनोरम दृश्य छायाङ्कन हुन थालेपछि र सामाजिक सञ्जालमा तालको सुन्दरताको तस्बिर राख्न थालेपछि तालमा घुइँचो लाग्न थालेको छ। 
 

प्रकाशित मिति: : 2020-02-01 04:04:43

प्रतिकृया दिनुहोस्