‘पोर्तुगलमा नेपाली दूतावास देख्न नचाहनेहरु डिप्रेसनका बिरामी हुन्’

केही वर्ष अघि खुब चर्चामा रहेको विषय थियो पोर्तुगलमा नेपाली राजदूतावास स्थापना हुने कुरा। पोर्तुगलका रमेश गुरुङको नेतृत्वमा राजदूतावास स्थापना सङघर्ष समिति पनि बनेको थियो। त्यो बेला चोक गल्लिमा यहीँ विषयमा धेरै बहस हुन्थ्यो। तर स्पेनमा नेपाली राजदूतावास स्थापना भएसँगै यो विषय अहिले यतिकै सेलायो। 

त्यो बेलाको एउटा घटना स्मरण गरिरहदाँ पोर्तुगलमा राजदूतावास स्थापना गर्न असहयोग गर्ने यहीँ बस्ने नेपाली हुन्। भएको के थियो भने त्यतिबेला पोर्तुगलमा कांग्रेस समर्थित जनसम्पर्क समिति ठूलो र बलियो मानिन्थ्यो। नेपालमा सरकार भने तत्कालीन नेकपा (माओवादी)को थियो। सरकारले युरोपका विभिन्न देशमा राजदूतावास स्थापना गर्ने चर्चा चलिरहदा यहीँबाट जनसम्पर्क समिति र प्रवासी नेपाली मञ्च (तत्कालीन नेकपा एमाले)का केही नेताहरु नेपाल गएर परराष्ट्र मन्त्रालय र सरकारसँग लविङ गर्दै थिए।

सरकार स्पेन वा पोर्तुगल मध्ये एक देशमा दूतवास स्थापन गर्न चाहन्थ्याे। यता सरकार राजदूतावास स्थापना गर्ने तयारि गरिरहेकाले जसले बलियो लविङ गर्‍यो त्यहीँ राजदूतावास आउने निश्चित थियो। यता पोर्तुगलबाट जनसम्पर्क र प्रवासी नेपाली मञ्चका नेताहरु राजदूतावास स्थापनार्थ लविङ गर्न बारम्बार बैठक बसिरहे।

तत्कालीन नेकपा (माओवादी) समर्थित जन प्रगतिशील मञ्चलाई बेवास्ता गरेको भन्दै यहाँका नेताहरु रुष्ट थिए। त्यो बेला तुलनात्मक रुपमा पोर्तुगलमा माओवादी सानो र कमजोर थियो। पोर्तुगलका माओवादी समर्थित नेतागण आफूलाई हेपेको र सानो देखेको झोकमा स्पेनका माओवादीसँग मिलेर राजदूतावास स्पेनमा हुनुपर्छ भनेर लविङ गर्न नेपाल पुगे। 

तत्कालीन सरकारलाई स्पेन र पोर्तुगलबाट बारम्बार स्पेनमा राजदूतावास दिनुपर्छ भनेर लविङ आएपछि पोर्तुगलमा राजदूतावास स्थापना हुने सम्भावना तुहियो। अन्ततः सरकारले स्पेनमा राजदूतावास स्थापना गर्ने घोषणा गर्‍यो।

यसको मतलव यहाँ दूतवास स्थापना हुन सक्दैन वा हुनु हुन्न भन्ने चाहिँ होइन। सजिलो छैन भनेर देखियो। राजनीतिक आस्था र प्रतिशोधले पोर्तुगलमा राजनीति गर्न खोलिएका संस्थाहरु कमजोर र कागजमा सिमित भए। पछिल्लो समय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लिस्वनमा आएर पोर्तुगलमा नेपालीको सङ्ख्या मात्रै धेरै हुँदैमा राजदूतावास स्थापना हुन नसक्ने बताएका थिए। नेपाल–पोर्तुगल व्यापार र श्रम सम्झौता नहुँदा तत्कालको लागि कुनै पहल नहुने भनेर भन्दिएपछि राजदूतावास स्थापना गर्ने अभियान थालेका र सपना बुनेकाहरु निराश भएका थिए। 

कुनै पनि देशमा बस्ने नेपालीले आफू बसेको देशमा राजदूतावास भइदियोस् भनेर चाहना राख्नु सामान्य हो। युरोपमा बेलायतपछि धेरै नेपाली बस्ने मुलुक पोर्तुगलमा राजदूतावास स्थापना हुन अपरिहार्य छ। तर पछिल्लो घटनाक्रमबाट स्पष्ट भयो कि फेसबुकमा स्टाटसले मात्रै परराष्ट्र र सरकारले राजदूतावास स्थापना गरिदिदैन्। अझ पोर्तुगलको कुनामा बसेर नेपालमा पोर्तुगिस एम्बेसी स्थापना गरिदिदैन। किनभने हाम्रो बाआमा बुढाबुढि भिषा लगाउन दिल्ली जानू पर्‍यो भनेकै भरमा एन्टोनि डिकोस्टाले मन्त्री परिषदमा निर्णय गरेर काठमाडौंमा लगेर राजदूतावास खोलिदिँदैनन्।

देशको आवश्यकता र सम्बन्धका आधार बलिया हुनुपर्छ। भारतमा दिल्लीमा राजदूतावास र गोवामा कन्सुलर छ। त्यो कन्सुलर र दूतावास गोवाका मानिसले फेसबुकमा स्टाटस लेखेको आधारमा वा बेला भिस्तामा बारवे क्यु पार्टि गरेर भाषण ठोकेको भरमा खोलिएको होइन। आवश्यकता र महत्त्वका आधारमा खोलिएका हुन्। पोर्तुगिस गोवाको आधिकारिक सरकारी भाषा हो। त्यहाँका अधिकांस इसाईसँग पोर्तुगिस सम्बन्ध छ। 

अब यहाँ पोर्तुगलमा बस्ने नेपालीले पोर्तुगिस पासपोर्ट लिएकै भरमा राजदूतावास चाहियो भन्नू पनि आवश्यक कारण नहुन सक्छन। किनभने बङ्लादेशमा पनि पोर्तुगिस राजदूतावास छैन। पोर्तुगल बस्ने बङ्गालिका परिवार पहिला भारतको भिषा लगाएर दिल्ली पुग्थे अनि पोर्तुगलको लागि भिषा आवेदन दिन्थे।

पोर्तुगलमा नेपाली राजदूतावास स्थापना गर्न पहल गर्ने उपाय भनेको यहाँका राजनीति गर्ने पार्टीका नेपाली नेताहरुलाई जयजयकार गर्ने, नेकपाको सरकार भए लाल सलाम कमरेड भन्ने र कांग्रेसको सरकार भए जय नेपाल भन्ने मात्रै हो।  नत्र यहि नेता भनिएकाहरु नेपाली राजदूतावास स्थापना गर्न असहयोग गर्न लागिपर्छन।

कि त एउटा बलियो टिम निरन्तर लागिपर्नुपर्ने र पोर्तुगल आउने सबै तह र तप्काका नेतालाई चिमोटिरहने र घच्घचाइरहने गर्नुपर्छ,नत्र पोर्तुगलमा नेपाली राजदूतावास हुनुहुँदैन भनेर पोर्तुगलका स्वोघोषित भगवानरुपि रवि लामिछानेहरु सामाजिक सञ्जालमा वान्ता गरिरहन्छन्। पोर्तुगलमा नेपाली दूतावास देख्न नचाहने डिप्रेसनका बिरामीहरु हुन्। नकारात्मक देख्छन्, सुन्छन् र फैलाउछन्।

प्रकाशित मिति: : 2020-02-02 03:19:57

प्रतिकृया दिनुहोस्