बत्ती निभेको पल

शरीर उभिन र बस्न नसक्ने अवस्थामा थियो । बिस्तरामा ढल्किरहेकी थिएँ ।

बाबाले खाना मेरो ओछ्यानमै ल्याइदिनुभयो ।

“सन्चो छैन हो?” बाबाले साङ्केतिक भाषामा सोध्नुभयो ।

मैले आवाज ननिकाली मुन्टो मात्र हल्लाएँ । पटक्कै खाने मन थिएन ।तर बाबाले दुःख मान्नुहोला भन्ठानेर
अलिकति खाएँ ।

बाबा मेरो ओछ्यानको छेउमा आएर बस्नुभयो ।

बाबा मलाई नियालिराख्नुभएको थियोमानौँ बाबाले सबै कुरा बुझिसक्नुभएको छ र मैले केही नभने पनि उहाँले
मलाई धेरै बुझिराख्नुभएको छ ।

“बाबा, सबै लोग्ने मान्छे मेरो बाबाजस्तै किन हुँदैनन्?”

आँखामा आँसु छछल्कियो ।

“किन डिना? के भयो र?” सोच्दै नसोचेको प्रश्नप्रति अचम्मको भावले हेर्दै बाबाले प्रतिप्रश्न गर्नुभयो ।

संसारमा सबैभन्दा नजिकको मान्छे बाबा—जसको काख एक जवान छोरीका आँसुले भिज्यो ।
सम्पूर्ण यथार्थ सुनाएँ ।

बाबाले आफ्ना आँखाबाट बगिरहेका आँसुलाई दृढतापूर्णरूपमा पुछ्दै भन्नुभयो, “डिना, तिमीले यस्तो अन्याय
सह्यौ । अब जाग्नुपर्छ छोरी । तिमी चुप लागेर बस्ने छैनौ अब । तिमीले अन्यायको विरुद्ध लड्नैपर्छ ।”

बाबा आँसु पुछ्दै आफ्नो फर्निचरको कोठामा छिर्नुभयो ।

अरू दिनभन्दा निकै कसिएको आवाज आइरह्यो फर्निचर कोठाबाट । सायदआफ्नो न्यायप्रेमी आवाज कलुषित
स्वार्थको विरुद्धमा बुलन्दित गर्ने दृढ सङ्कल्पले होला मार्तल अनि ह्याम्मरहरूको आवाज सदाभन्दा कठोर लाग्यो ।

सायद मलाई दह्राे बनाउन बाबाले आफ्ना आँसुहरू लुकाउनुभयो जसले मलाई अझ कमजोर बनाउँथे ।
राति निदाउने प्रयास गरेँ । बाबाको घुँक्कघुँक्क रोएको आवाज कानमा छिरिरह्यो ।

सिरकभित्र छिरेँ, मुख छोपेँ । फेरि पनि सुनियो बाबाको घुँकघुँक आवाज...। हत्केलाले कान छोपेँ । बाबाको
रुवाइसँगै मिसियो मेरो रुवाइको बाढी । बाबाको रुवाइ मैले सुनेँ तर मेरो सुन्ने कोही थिएन ।

बासुको पापी अनुहारले घरीघरी तर्साइरह्यो । सोचेँ, उसले मजस्ता धेरै कोपिलाहरू निमोठेको होला । उसले अझै
पनि अन्य कोपिला, कुसुम र फूलहरूलाई निमोठ्ने प्रयास गर्नेछ । यहाँभन्दा अगाडि जति कोपिलाहरूलाई उसले
निमोठेको थियो ती सब चुप थिए ।

पृथ्वी घुमि नै रहन्थ्यो । सूर्य, चन्द्र र ताराहरू उदाउने र अस्ताउने गरि नै रहन्थे । कन्काई माई अविरल
बगिरहन्थिन् ।सबै हेरिरहे, मुक दर्शक बनिरहे । अन्यायका जराहरू मौलाउँदै रहे । चुपचाप मौनताभित्र न्याय
मृत्युवरण गरेझैँ रह्यो । तर चुप रहन सकिनँ । अनेकौँ प्रश्नहरूको भेल, बाढी र आँधिबेहेरीले मलाई चैनको स्वाँस
फेर्न दिएन ।

आखिर महिलाहरू किन आफूमाथि हुने हिंसा सहेर बस्छन्? के उनीहरू डराउँछन् समाजले आफैँ माथि प्रश्न
उठाउँछ भनेर? कि समाजमा शिर निहुराएर हिँड्नुपर्छ भनेर? मेरो मनले मनसँग क्रान्ति गर्‍यो र भन्यो, “तिमी
जाग्नैपर्छ । तिमीले बोल्नैपर्छ । तिमी लड्नैपर्छ अन्यायका विरुद्धमा । परिवर्तन आफैँबाट सुरुवात गर्नुपर्छ । अर्काले
गरिदेओस्भनेर सबै सहेर बस्ने हो भने परिवर्तन सम्भव छैन ।”

बलत्कार गर्ने पापी बासु मेरोअगाडि शिर ठाडो पारेर हिँडोस् अनि मौन रूपमै भनोस्— “के गर्न सक्छेस् तैँले?
आखिर तँ उही कमजोर आइमाई न होस्।” यस्तो हुनु हुँदैन । यस्तै सोचेँ ।

मैले अठोट गरेँ— चुपचाप बस्ने छैन । यत्रो अत्याचार हुँदा पनि चुप बस्नु मेरा लागि सम्भव थिएन ।
बिहान ओछ्यानमै थिएँ ।

“तँलाई बाँच्नु छ भने चुपचाप बस् । मर्नु छ भने बासुको विरुद्धमा लाग्।”

पाँचजना गुन्डाहरू घरमा आएर धम्क्याए । ती बासुका भरौटे थिए ।

“बासुको विरुद्धमा निवेदन दिए मारिदिन्छाैँ।”

मार्ने धम्की दिएर उनीहरू फर्कन थाले । 

असह्य भएपछि मैले जवाफ दिएँ, “काँतर हो तिमेर्को बासे । त्यो आफ्नो धैर्य गुमाउने पशु हो । एउटी कमजोर
अबला नारीलाई लुछ्ने, थुत्ने र निमोठ्ने नार्मद हो त्यो । आपूmभन्दा सानोलाई दबाउन खोज्ने । सक्छ भने कानुनसँग
लडेर मलाई हराएर देखाओस्! यही सन्देश लगिदेओ तिमेर्को पापी, दुष्ट, अपराधी बासेलाई ।”

बाबा र म पुलिस चौकीमा गएर जबर्जस्ती करणीको जाहेरी दर्ता गराउन खोज्दैथियौँ ।

“यस्तो झुटो, भ्रामक र काल्पनिक जाहेरी दरखास्त हामी दर्ता गर्दैनौँ,” हवल्दारले चर्किदै भन्यो ।

“कस्तो झुटो? सही के हो भन्ने मेडिकल रिपोर्टले बताउँछ ।झुटो भन्ने अधिकार कसले दियो तपाईंलाई? झुटो
भन्ने तपाईंसँग के प्रमाण छ हँ?” मैले दबिएको आवाजमा भनेँ ।

उसले मलाई रिसको दृष्टि लगायो ।

मैले आक्रोशको नजरले जवाफ फर्काएँ ।

“पहिले तपाईंआफ्नो काम र कुरा पूरा गर्नुहोस्।” मेरो आक्रोश अझ उच्च स्वरमा पोखियो ।

बाबा छक्क परेर मलाई सोध्दै हुनुहुन्थ्यो, “के भयो? जाहेरी दरखास्तलिन मानेनन्?”

मेरो आक्रोश र धम्कीपूर्ण व्यवहारपछि मात्र जाहेरी दरखास्तदर्ता भयो ।

निवेदन दिएर हामी बाहिर निक्लिँदैथियौँ । एक जवान प्रहरी मलाई केही भन्न खोजेझैँ हाम्रो अगाडि उभियो ।

“बहिनी, बासुको बाउ दिलबहादुरले फोन गरेर हवल्दारलाई थर्काइसकेको छ,” जवानले भन्यो ।

बलत्कारको घटना सबैतिर फैलिएको थियो । गाउँका मान्छेहरू आएर सोधपूछ गर्न थालेका थिए ।
“कति जना थिए?”

“कोको थिए?”

“केके गर्‍यो?”

“कसरी गर्‍यो?”

“कहाँ कहाँ छोयो?” आदि, इत्यादि ।

यस्ता प्रश्न र प्रश्न गर्नेहरूका सहानुभूतिपूर्ण वाक्यहरूले पनि मलाई दिक्दार बनाएको थियो । यहाँ मान्छेको
स्वास्थ्यको रिपोर्ट उल्टो बनाइन्छ । जाहेरी दर्ता हुन्न, पैसाले प्रशासन किनिन्छ । हे भगवान्, के गरिब हुनुको अर्थ यही
हो?

मलाई आफ्नै टाउको फुटाऊँझैँ लाग्यो ।

घर फर्किदै थिएँ दुई महिलाले मलाई देख्नासाथ हेराहेर गरे । उनीहरू मेरो कुरा गर्दैछन्भन्ने थाह पाएँ ।

“यो डिनालाई देख्दा त कसैका छोरी नै नजन्मिउन्जस्तो लाग्छ,” एउटीले घृणामिश्रित स्वरमा भनिन्।

“यसरी बलात्कृत भएर पनि मुख देखाएर हिड्नु भन्दा त मर्नु बेस,” अर्कीले भनिन्।

“बिचरी धन्न पो बाँचेकी छे भन न ।” अर्कीले भनिन्।

त्यसपछि आवाज मधुरो भयो ।

“समयले न चिहानको बाटो देखायो न त मान्छेहरूले आरामदायी जीवन जिउन दिएका छन्। बाबा, मलाई किन
यति धेरै पीडा दिन्छन्मान्छेहरू?”

छेउको ऐनामा आफूलाई नियालेँ । मनले एउटा निष्कर्ष निकाल्यो— मेरो के दोष छ र म आफूलाई पीडा दिँदैछु?
मैले जित्नैपर्छ ।

निराशा र हीन भावना पनि त आफूले स्वीकारेपछि मात्र हुने न हो । जहाँ मेरो गल्ती छैन भने म किन आफूलाई
कमजोर बनाऊँ? मैले अठोट गरेँ, अझै लड्नु छ मैले अन्यायको विरुद्धमा । यसको लागि पनि मैले बाँच्ने साहस
बटुल्नुपर्छ ।

अन्ततः मान्छे आफ्नै सोचका कारण दुःखी हुन्छ । सुकरात आफ्नो सत्य वचनलाई, साँचो कुरालाई स्थापित
गराउन, कालजयी गराउन आफ्नो सोचबाट एकरति पर हटेनन्। आफ्नो ज्यानको आहुति दिनलाई उनी तम्तयार भए
तर सोच बदलेनन् । कहिल्यै उनले जीवनको भिख मागेनन् । बरू हाँसीहाँसी “हेमलक” सेवन गरी जिन्दगीलाई
सत्यको जितको खातिर चिताको आश्रय दिए । उनले आफ्नो सोच सत्य र सही छ भने बरू चिहानघारीमा पुगेर
आफूलाई समाशीस्थ गर्नू तर कलुशित स्वार्थ सिद्धिको लागि कदाचित आफ्नो सोच र सत्यको बाटोमा पूर्णविराम
नलगाउनू भन्ने प्रेरणा संसारलाई दिए र आफू हाँसीहाँसी बिष खाएर देह त्याग गरे ...।

अब म आँसु झार्ने छैनँ ।

मनका पीडा कहिले मनकै गहिरो समुन्द्रमा डुब्थे त कहिले मनको हिमालमा उक्लिन खोज्थे ।
रात अनिदै बित्यो... । 

झण्डै पचास जना महिलाहरूको नेतृत्व गर्दै मानवअधिकारवादी सङ्गीता दिदीलगायत प्रहरी कार्यालयमा
पुगिसकेका रहेछन्। म पनि पुगेँ ।

मानवअधिकारकर्मीहरूको दवावका कारण बासुकोडिएनएको माग गरिएको निवेदन दर्ता भयो ।

घर, कोठा, चोटा हुँदै जिल्लाभर मेरो विषयमा चर्चा हुन थाल्यो— पूर्वमन्त्रीको छोराले लाटाकी छोरीलाई बलात्कार
गर्‍यो रे । यो निकै तातो र सनसनीपूर्ण समाचार बन्यो । महिला समूह र महिलाका संघसंस्थाहरू जागृत भएर मेरो
विषयमा बोल्न थाले ।

जबर्जस्तीरूपमा दर्ता गरिएको जाहेरीको सन्दर्भमा जिल्ला सरकारी वकिलको कार्यालय झापाबाटश्री झापा जिल्ला
अदालतमा अभियोगपत्र दायर हुन्छ । संघ, संस्थाका प्रतिनिधि, पत्रकार, महिला अधिकारकर्मी आदिको बाक्लो
उपस्थितिले जिल्ला अदालतको इजलास नम्बर १ का माननीय न्यायाधीश श्री पोष्टप्रसाद शर्माज्यूको एकल इजलास
खचाखच भरिएको थियो । माननीय न्यायाधीशबाट के आदेश होला भनेर सबैमा उत्सुकता छाएको थियो ।

अन्ततः लामो धैर्यपश्चात माननीय न्यायाधीश श्री पोष्टप्रसाद शर्माज्यूको एकल इजलासबाट मेरो पक्षमा थोरै
राहत स्वरूपको आदेश भयो । जसमा भनियो, “वादी नेपाल सरकार र प्रतिवादी बासु केसी भएको जबजस्र्ती करणी
मुद्दामा यस मुद्दाको फैसला नहुञ्जेलसम्मको लागि प्रतिवादी बासु केसीलाई पुर्पक्षमा राखी सादा दालभात खान पाउने
गरी कानुन बमोजिम गर्नु गराउनू, साथै मुलुकी ऐन्२०२० को जवर्जस्ती करणीको महलको अधिनस्थ प्रतिवादीतर्फका
निज केसीको डिएनए परीक्षण गरी पन्ध्र दिनभित्रमा सम्मानित इजलास समक्ष पेश गर्नु गराउनू, अन्य कुराको हकमा
कानुन बमोजिम गर्नू ।”भन्ने आदेश श्री झापा जिल्ला अदालत इजलास नम्बर एकबाट जारि गरिन्छ ।
म मात्र त्यही डीएनए परीक्षणको प्रतिफलको पर्खाइमा थिएँ । समय निकै बिस्तरो गतिमा बितिरहेको थियो ।
म भगवान्सँग प्रार्थना गर्थेँ कि त्यो प्रतिफलपश्चात बासुले सजाय पाउने छ अनि मेरो बाबाको मुहारमा फेरि
खुसी फर्किने छ । कमसेकम अपराधीले सजाय पाउँदा केही न केही राहत पीडितले पाउँछ । मलाई पनि केही मलम
मिल्नेछ र घाउ पोल्न अलि कम हुनेछ । आशा थियो ।

बासुको डिएनएको रिपोर्ट आएको र त्यसमा ऊ निर्दोष देखिएको मानवअधिकारवादी सङ्गीता दिदीले फोनबाट
जानकारी गराइन्। मलाई धरती नै अँध्यारो लाग्यो । त्यही डिएनएको रिपोर्टको आधारमा अदालतले बासुलाई निर्दोष
देख्यो ।

खुट्टा थर्थराए । मुटुको धड्कन एकाएक उकालो लाग्यो र यति धड्कियो कि मैले छातीको बाहिरपट्टिबाट यसलाई
नियन्त्रणको प्रयास गरिरहेँ । हेर्दाहेर्दै सबै अँध्यारो भयो ।

म लडेछु । कसो घरैमा थिएँछु ।

बाबाले कतिबेला उठाउनुभएछ र पानी खुवाउनुभएछ । दिउँसो खबर आएथ्यो ४ बजे । साँझ ४ः३० बजे पो
बेहोसीबाट ब्यूँझिएँ । त्यो जीवनको दोस्रो कालो रात थियो । सर्वत्र अन्धकार थियो ।

बिहान बाबा अबेरसम्म सुतिरहेको देखेर म छक्क पर्दै बाबाको ओछ्यानमा पुगेँ । सधैँ ओच्छ्यानमा चिया
ल्याइदिने बाबा आज मस्त निदाइरहनुभएको देखेँ ।

“बाबा उठ्नुहोस्न । म अन्यायका विरुद्ध लड्छु आब ।” आफ्नो अठोट सुनाएँ ।
निकै बेर झक्झकाउँदा पनि बाबा उठ्नुभएन ।

“बाबा म बासुलाई सजाय दिएर छाड्छु ।”

म आत्तिएँ, रोएँ, कराएँ । सुन्ने कोही थिएन ।

बाबाको हात समाएँ । चिसो थियो । बाबाले सास फेर्नुभएको छैन भन्ने थाह पाएँ । अब त म आफैँलाई चिसिएको
जस्तो भान हुँदै थियो । चेतना धेरैबेर गुमाएछु थुप्रै मान्छेहरूको बीचमा । होस खुल्दा पो बोध भयो ।

‘डिलको डोब’ उपन्यासको अंश
 

प्रकाशित मिति: : 2020-02-02 05:41:29

प्रतिकृया दिनुहोस्