मुलुकको गरिबी अन्त्य गर्न विभेद हटाउनुपर्छ : नागरिकमन्त्री गुरुङ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मुलुकमा महिला हिंसाका कारण गरिबी बढेको बताएका छन्। 

महिलाका हितमा काम गर्ने विभिन्न संघ संस्थाले संयुक्त रुपमा बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मुलुकको गरिबी अन्त्य गर्नका लागि सबै किसिमको विभेद अन्त्य गर्नुपर्ने बताएका हुन्। 

'मुलुकलाई गरिबीबाट मुक्त गराउन विभेद हटाउनुपर्छ' उनले भने। महिलाविरुद्धको हिंसा अन्त्यका लागि मन्त्रालय प्रतिबद्ध रहेको उनले जानकारी दिए। 'महिलाका हितका लागि काम गर्ने संघ संस्थासँग सहकार्य गरेर अघि बढ्ने छौं' उनले भने। 

उक्त कार्यक्रमले मन्त्रालयलाई काम गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे। राजनीतिज्ञ, प्रशासक, अधिकारकर्मी, नागरिक समाज, कानूनविद् सबैका कमी–कमजोरी रहेको भन्दै उनले भने, 'सच्याएर अघि बढे परिर्वतन सम्भव छ' उनले भने। 

ग्रामीण क्षेत्रका महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा पनि परिवर्तनको खाँचो रहेको उनको भनाई छ। महिला हिंसाका घटना बढ्दै जानु चुनौतीको रुपमा रहेको बताउदैं उनले भने, 'सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको छ।' 

प्रकाशित मिति: : 2020-02-06 04:55:24

प्रतिकृया दिनुहोस्