६ वर्षपछि भारत एकदिवसीय शृंखला पराजयको संघारमा  

एजेन्सी

हेमिल्टन

भारत र न्युजिल्यान्डबीच ३ वटा एकदिवसीय शृंखलाअन्तर्गत शनिबार अकल्यान्डमा दोस्रो खेल हुँदैछ। भारतले दोस्रो खेल हारेको खण्डमा उसले ६ वर्षपछि किवी टोलीसँग एकदिवसीय शृंखला गुमाउने छ। 

हाल भारत ०–१ ले पछाडि छ। सन् २०१४ को जनवरीमा न्युजिल्यान्डले भारतलाई ४–० ले पराजित गरेयता शृंखला जित्न सकेको छैन। भारतले पछिल्लो तीन वटा एकदिवसीय शृंखलामा न्युजिल्यान्डलाई पराजित गरेको छ। 

यसपालि शृंखलाको पहिलो खेलमा भारत ४ विकेटले पराजित भएको थियो। 

हेमिल्टनमा भएको पहिलो खेलमा भारतले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४७ रन बनाएको थियो। प्रत्युत्तरमा घरेलु टोलीले ४८ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै विजय लक्ष्य चुम्यो। न्युजिल्यान्डले एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो लक्ष्यलाई हासिल गरेको थियो। 

भारतले शनिबारको खेलमा बलिङमा केही परिवर्तन गर्न सक्ने सम्भावना छ। शार्दुल ठाकुरको स्थानमा नवदीप सैनीलाई खेलाउने सम्भावना रहेको भारतीय अखबारले लेखेका छन्। 

शनिबार अकल्यान्डको मौसम १७ देखि २३ डिग्रीको बीचमा हुने सम्भावना छ। अकल्यान्डको पिच ब्याट्सम्यानका लागि सहयोगी मानिन्छ। यहाँ भारतले अहिलेसम्म खेलेको ९ खेल मध्ये ४ मा जित र ४ मा पराजय भोगेको छ। १ खेल टाई भएको थियो। 

हालसम्म यहाँ ७६ एकदिवसीय खेलिएको थियो, जसमा २९ मा पहिले ब्याटिङ गर्ने टिमले जितेको छ। लक्ष्य पछ्याउने टिमको रेकर्ड अकल्यान्ड मैदानमा राम्रो छ। यहाँ दोस्रो इनिङमा ब्याटिङ गर्ने टोलीले ४२ पल्ट जित निकालेका छन्। 

भारत र न्युजिल्यान्डबीच हालसम्म १ सय ८ एकदिवसीय भएको छ। जसमा भारतले ५५ मा जित र ४७ मा हार बेहोरेको छ। न्युजिल्यान्डमा भारतले ४० मध्ये १४ खेलमा मात्र जित निकालेको छ। २३ खेलमा भने पराजय स्विकार गर्नु परेको थियो। 
 

प्रकाशित मिति: : 2020-02-08 10:48:18

प्रतिकृया दिनुहोस्