एपीएफ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबमाथि शानदार जित निकालेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा एपीएफले फ्रेन्ड्सलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
एपीएफको जितमा आशिष लामा र प्रविन स्याङतेनले २र२ गोल गरे। यस्तै कप्तान टोप बहादुर बिष्टले थप एक गोल गरे। फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल गरे।
खेलको १२ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए। ४० औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाए।
खेलको ६९ औं मिनेटमा फिलिपेले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को स्थितिमा ल्याए। ७१ औं मिनेटमा प्रविनले गोल गर्दै एपीएफलाई ३-१ को अग्रता दिलाए । ७६ औं मिनेटमा फ्रेन्ड्सका विश्वले गोल गर्दा खेल ३-२ को स्थितिमा पुग्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा एपीएफले लगातार दुई गोल गर्यो। इन्जुरी समयको चौंथो मिनेटमा कप्तान टोपले गोल गर्दै एपीएफलाई ४-२ को अग्रता दिलाए। त्यसको एक मिनेट नबित्दै प्रविनले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ५-२ को सानदार जित दिलाए ।
जितसँगै पुछारबाट दोस्रो स्थानमा रहेको छ। एपीएफले १२ खेलमा ८ अंक जोडेको छ। फ्रेन्ड्स १२ खेलमा १४ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ।