नेपाली कांग्रेस: पक्ष, विपक्ष र महाधिवेशनको गाँठो

Break n Links
Break n Links

‘विचारमा द्वन्द्व भइ समूह निर्माण हुन्छन्। वैचारिक आधारमा भएका बहसले पार्टीलाई फाइदै पुर्‍याउँछ। विचारमा भिन्नता भइ बहस हुँदा व्यक्तिलाई महत्वपुर्ण होइन, संगठनलाई प्राथमिकतामा राखेर समर्थन या विरोध गर्नुपर्दछ।’

मनमुटावरहित सबल, स्वाभिमानी र एकताबद्ध कांग्रेस बनाउनुपर्ने भन्दै कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीले आफ्नो पुस्तक ‘समुन्नत राष्ट्र, सम्पन्न नागरिकका लागि प्रभावशाली कांग्रेस’ पुस्तकमा लेखेका छन्।

एकजना केन्द्रीय सदस्यले लेखेको यो एउटा लिखित दृष्टान्त हो। कुरा शुरु गरौं के कारण थियो होला त स्व.जोशीले यति लेख्नुपर्नेमा? यही प्रश्नको जवाफ के हुनुपर्ला? कांग्रेसको पुरै केन्द्रीय समितिले यसको जवाफ दिनुपर्ने हो। खैर? वैचारिक रुपमा वहस र छलफल गर्न अनिच्छुक देखिन्छ। वैचारिक वहस भन्दा व्यक्ति केन्द्रित संगठन अहिलेको कांग्रेसको चरित्र देखिन्छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आफ्नो सक्रिय राजनीति टुङ्ग्याउने कुरा गरेको सन्दर्भ र कांग्रेसको केन्द्रीय समितिको बैठक चलिरहेको अवस्था छ।

साप्ताहिक ‘विमर्श’ को २०५३ बैशाख २८ को सम्पादकीयमा लेखिएको थियो-’ इतिहांसले मात्रै कुनै पार्टी बाँच्न सक्दैन। नेका पनि आफ्ना स्वर्णिम इतिहांसको कारणले मात्रै संधै टिक्न सक्दैन…।’

नेपाली कांग्रेसको महाधिवेशनलाई सञ्चार माध्यमले अत्यन्तै रुचिका साथ हेरिरहेका हुन्छन् भन्ने यो एउटा उदाहरण थियो र यस्ता उदाहरण प्रसस्तै छन्।

२०५३ बैशाख २९ को The Kathmandu Post को एडिटोरीयलमा लेखिएको थियो-’…The convention has given fresh impetus to the Nepali Congress.

वि.सं. २०५३ सालको नवौं महाधिवेशनमा कुल खसेको मत १४११ मध्ये ११४४ मत प्राप्त गरी सभापतिमा गिरिजाप्रसाद कोइराला विजयी भएका थिए। उतिबेला १४१० मत सदर भएको थियो। १ मत बदर भयो।

चिरिञ्जिवी वाग्ले २५४ र रामहरि जोशीले १२ मत प्राप्त गरेको इतिहास छ नेपाली कांग्रेसको संगठनको आन्तरिक चुनावमा।

काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनको चर्चा किन गरिएको हो भने त्यही महाधिवेशनबाट नै मतदानबाट (विकास क्षेत्र अन्तर्गत) केन्द्रीय समिति निर्वाचित हुने थप लोकतान्त्रिक प्रक्रियाको शुरुवात भयो।

सुदूर पश्चिम क्षेत्रबाट शेरबहादुर देउवा निर्विरोध निर्वाचित हुँदा (जो अहिले सभापति समेत छन्।) मध्यपश्चिम क्षेत्रबाट (दिवंगत) सुशील कोइराला १५३ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए, सुर्खेतका पुर्णबहादुर खड्का (हाल उप-सभापति) ३८ र बाँकेका युवराज शर्माले (हाल राष्ट्रिय सभा सदस्य) प्राप्त गरेको मत ९ मात्रै थियो। उतिबेला विमलेन्द्र निधिले १७६ मत प्राप्त गर्दा भीमबहादुर तामाङ्ग २४६ मतसहित विजयी भएका थिए।

रामकृष्ण ताम्राकार ११८ मत पाउँदा रामचन्द्र पौडेल (हाल राष्ट्रपति) १८७ मत प्राप्त गरी केन्द्रीय सदस्यमा विजयी भएका थिए।

विजयकुमार गच्छदार १९५ मतसहित विजयी, मणिलामा-७९ मतसहित प्रकाश कोइराला-७३लाई पराजित गरेर केन्द्रीय सदस्यमा विजयी भएका थिए।

वि.सं.२०५१ माघमा पोखरामा सम्पन्न महासमितिको बैठकले दिएको अधिकार अनुसार नेपाली कांग्रेसको विधान, २०१७ लाई परिमार्जन र संशोधन सँगै यो प्रक्रिया शुरु भएको थियो। त्यसयता कांग्रेसको केन्द्रीय कमिटिको चुनावमा थप लोकतान्त्रिकरण र समावेशीता अपनाइएको छ।

तर विधि, प्रक्रिया र संगठन सञ्चालन व्यक्ति केन्द्रीत हुँदै अघि बढ्दै गइरहेको अवस्था पनि छ। तर पछिल्लो पटक सम्पन्न महासमिति बैठकको मर्मलाई लत्याएर केन्द्रीय समितिले उल्टो प्रक्रिया अपनाएको थियो।

राजनीति गर्नेहरूले सद्गुणको सिद्धात न्यायको सिद्धात, राज्यको अवधारणा र सामाजिक विचार ख्याल गर्नैपर्छ।

विधि-विधान, प्रक्रिया सँगसँगै आईडिओलोजी-फिलोसपी-प्रिन्सिपल-थ्यौरीलाई विश्वास गरेर कुनै राजनीतिक दलसँग जोडीएका संगठित सदस्यहरू तत-तत पार्टीका उपल्लो पदमा बसेका नेतृत्वकर्ताका अघिल्तिर ‘लमपट’ मात्रै हुनुहुँदैन। विडम्वना कांग्रेसमा यो मनोवृत्ति बढेको छ।

कांग्रेस सभापति देउवाले सहज परिवेशमा आफ्नो नेतृत्व छाड्छु भन्नु लोकतान्त्रिक मान्यतामा सकारात्मक पक्ष हो। देउवाले चाहने हो भने कांग्रेसको विधान संसोधन गरेर पनि फेरि नेतृत्व हत्याउन सक्ने सम्भावना रहन्छ। त्यसको प्रभाव र असर सभापति देउवालाई जोखिमयुक्त हो।

दुई कार्यकालभन्दा बढी सभापति चयन नहुने कांग्रेसको विधानको व्यवस्थाको कार्यान्वयन बलियो लोकतन्त्रिक पक्ष हो। भलै देशको संविधान र कानुनले छेक्दैन।

यति हुँदा हुँदै पनि निर्धारित अवधिमा महाधिवेशन हुन सक्ने अवस्थाका विषयमा कांग्रेसको आन्तरिक तयारीलाई लिएर आशंका कायम छन्।
मूल विषय पार्टीको सदस्यता नविकरणमा गएर टक्राउने देखिन्छ। हालाकी कांग्रेसका विभिन्न तहहरूमा सदस्यता सम्बन्धि काम भइरहेकै होलान्। बर्षौं देखि कांग्रेसमा मुख्य विवादको विषय पनि सदस्यता वितरणकै विषमा हुन्छ। त्यसको खामियाजा तल जिल्ला र वडा तहमा भोग्छन् कांग्रेस कार्यकर्ताहरू। त्यसको परिणाम आम निर्वाचन सम्म पुग्छ।

जारी केन्द्रीय समिति बैठकमा नेपाली कांग्रेसका क्रियाशील सदस्य ८ लाख ७० हजार ७८० पुगेको बताइएको छ।

१४ औँ महाधिवेशनमा नवीकरण भएका ४ लाख २३ हजार ४३४, नयाँ ४ लाख ४७ हजार ३४६ र नेपाली जनसम्पर्क समितिबाट १९ हजार ५९२ जोडदा यो सङ्ख्या पुगेको महामन्त्री थापाले जानकारी गराएका छन्।

क्रियाशील सदस्यता कार्ड छपाइ वितरण ८ लाख ५१ हजार ७८० भइसकेको छ। ७४ (बारा, डोल्पा र मुस्ताङ १०९४३) जिल्ला बाहेक ८ लाख ५० हजार ८४६ र जनसम्पर्क समिति ९ हजार ६१८ वितरण भएको बताए।

सदस्यता नवीकरणका सन्दर्भमा असार १२ गतेसम्म उपलब्ध जानकारी अनुसार परिपत्रमा तोकिए बमोजिम नवीकरण विवरण प्रविष्ट गरेका बुझाएका ५ जिल्ला, सिस्टममा प्रविष्ट भइरहेका १५ जिल्ला, जिल्लामा निर्णय प्रक्रियामा रहेका १० जिल्ला, वडाबाट जिल्लामा नवीकरण फारम सङ्कलन भइरहेका ३३ जिल्ला, नवीकरणमा समस्या भएका १४ जिल्ला रहेको अवस्था छ।

नयाँ सदस्यता र नयाँ क्रियाशील सदस्यता फारम २ लाख १७ हजार ९०१ पठाइसकिएको, १७ जिल्लाले वडामा सदस्यता फारम पठाएको जानकारी भएको छ। तर दोलखा बाहेक कुनै पनि जिल्लामा नयाँ क्रियाशील सदस्यता वितरण भएको जानकारी प्राप्त हुन नसकेको, हाल नवीकरणमा ध्यान दिन र हाल नयाँ वितरण नगर्नको लागि सबै जिल्लालाई जानकारी गराइएको समेत महामन्त्री थापाले बैठकमा जानकारी गराएका छन्।

झण्डै एक वर्षको अन्तरालमा कांग्रेसको नियमित केन्द्रीय समितिको बैठक शुरु भएको अवस्था छ। उपसभापति पूर्णबहादुर खड्का महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विधानतः आफ्ना प्रस्ताव अघि बढाएका छन्।

केन्द्रीय सदस्यहरूले आफ्ना कुरा राख्ने शिलशिला चलेको छ। कांग्रेसको केन्द्रीय समितिको पहिलो दिनमा नै डा.शेखर कोइरालाले बुँदागत र समसामयिक विषयमा आफ्ना धारणा स्पष्टताका साथ राखेका छन्। कांग्रेसभित्र पनि मुख्य विपक्षी खेमाका नेता डा.कोइरालाले राखेका धारणाका विषयमा सञ्चार माध्यममा महत्वका साथ कभरेज भइरहेको छ।

अर्कातर्फ कांग्रेसका शुभेच्छुक तथा मुख्य भातृ संगठनको अधिवेशनको विवाद चरम रुपमा बढेको देखिन्छ। कतिपय संगठनका कार्यकर्ताहरू पार्टी मुख्यालयमा विरोधमा बसेको अवस्था छ। जस्तो कि नेपाल तरुण दल।

कांग्रेसको संगठनका विषयमा अर्को महत्वपुर्ण पक्ष भनेको महामन्त्रीहरूको सक्रियता र उनीहरूले प्रस्तुत गर्ने कार्यक्रम पनि हो। तर के त्यो विषयमा कांग्रेसभित्र निर्मम छलफल होला त? वा पार्टीका आगामी कार्यक्रमका विषयमा केही नयाँपन आउने सम्भावनाको अवस्था कसरी अघि बढ्ला भन्ने विषयमा पर्खनुपर्ने देखिन्छ।

दुई दिन यता जारी कांग्रेसको केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति तोक्न पनि लविङ्ग र दवाबको प्रयास भइरहेका बुझिन्छ।

प्रकाशित मिति: : 2025-07-01 19:55:00

प्रतिकृया दिनुहोस्