विभागीय टिम एपीएफ क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा बराबरी खेल्दै अंक बाडेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार लिगको आफ्नो अन्तिम खेलमा एपीएफले ब्रिगेड ब्वाईज क्लबसँग १–१ गोलको बराबरी खेलेको हो।
पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा एपीएफले ब्रिगेडसँग बराबरी खेलेको हो।
खेलको ४४ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए।
तर, पहिलो हाफमा बनाएको अग्रतालाई एपीएफले अन्तिम समयमा भने जोगाउन सकेन। दोस्रो हाफमा थप गरिएको समयको तेस्रो मिनेटमा ब्रिगेडका विजय गुरुङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएपछि एपीएफले बराबरीमा चित्त बुझायो।
ब्रिगेडसँगको बराबरीसँगै एपीएफले १३ खेलमा ९ अंक जोड्यो। र, एपीएफ यस सिजनको लिगको १२ औं स्थानमा रह्यो।
१३ खेलमा ९ अंक नै जोडेको ब्रिगेडले लिगको १३ औं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ।