एसियाकै ज्येष्ठ रेडियो उद्घोषक भैरव रिसाल! (भिडियो)

सन्दर्भः विश्व रेडियो दिवस

 सन्दर्भः विश्व रेडियो दिवस 

ज्येष्ठ पत्रकार भैरव रिसाल ९२ वर्षमा टेकिसकेका छन्। तर, जोश र जागर भने उस्तै छ। २०१३ सालदेखि पत्रकारितामा सक्रिय रिसाल अहिले पनि रेडियो सगरमाथामा साताकाे एक दिन मंगलबार बिहान ७ बजे ‘कुराे कन्थु’ कार्यक्रम चलाइरहेका छन्। उनी अनामनगस्थित आफ्नाे घरबाट सार्वजनिक सवारी साधन चढेर बिहानै बागडाेलस्थित सगरमाथा रेडियाेकाे कार्यालयमा पुग्ने गर्छन्।

उनलाई उमेरले कुनै राेक लगाएकाे छैन। मुलधारका पत्रपत्रिकामा पनि उनकाे लेख प्रकाशित भइरहन्छ। बिहीबार विश्व रेडियो दिवसको अवसरमा रेडियो पत्रकारिता र यसको महत्वबारे आफ़्नाे भनाइ बिएल नेपाली सेवासँग राख्ने क्रममा उनले भने,‘ऊ बेला रेडियो नै मजबुत संचारको साधन थियाे। हामीहरु देशविदेशकाे घटना रेडियाेबाटै थाहा पाउथ्याैं।

उनले हालसम्म ७ हजार अतिथिलाई आफ्नाे  कार्यक्रममा निम्त्याइसकेका छन्। रेडियाे सगरमाथाकाे स्थापना कालदेखि नै उनले राजनीतिक र समसामायिक विषयलाई लिएर कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन्। उनकाे श्राेता राष्ट्रपतिदेखि सर्वसाधारणसम्म छन्। ‘हिजाे मात्र पूर्व राष्ट्रपति रामवरण यादवले फाेन गर्नु भएकाे थियाे’, उनले भने। 

उनी अचेल इन्टरनेटले रेडियो र श्रोताबीचकाे दूरी बढाएको कुरा हल्ला मात्र भएको बताउँछन्। ‘अझै दुर्गम गाउँतिर जानु भयो भने रेडियो सुनेको पाउँन सकिन्छ,’ उनी भन्छन्।

उनी रेडियो सञ्चारका लागि सजिलो र भरपर्दो माध्यम भएको बताउँछन्। भन्छन्–‘ इन्टरनेट चलाउन सबै ठाउँमा पहुच हुदैन। भएपनि हातले चलाइराख्नु पर्ने झन्झट हुन्छ। तर रेडियो सुन्दा काम गर्दै गीतसंगीत सुन्नुका साथै समाचार जान्न र बुझ्न सजिलो छ।’

रिसाल २३ वर्षदेखि रेडियो सगरमाथामा अनवरत रूपमा कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन्। उनी ९२ वर्षको उमेरमा यसरी रेडियोमा कार्यक्रम सञ्चालन गर्ने नेपालमा मात्रै नभएर एसियाकै ज्येष्ठ कार्यक्रम प्रस्ताेता हुन सक्ने बताउँछन्। ‘याे खाेजीकाे विषय हाे,’ उनी भन्छन्।  
 

प्रकाशित मिति: : 2020-02-14 08:01:03

प्रतिकृया दिनुहोस्