कोरोना भाइरसः हुवेई प्रान्तमा हिँडडुल गर्न प्रतिबन्ध

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको चीनले हुवेई प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ।

आपत परेको बेलाबाहेक छ करोड मानिसलाई घरबाहिर ननिस्कन भनिएको छ भने निजी कारको प्रयोगमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको छ।त्यसका साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न दिनका निम्ति प्रत्येक घरबाट एक जनालाई तीनतीन दिनमा बाहिर निस्किन अनुमति दिइनेछ। 

हुवेई प्रान्त र त्यसको राजधानी वुहान नयाँ कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित भएका छन्। त्यहाँ आइतवारसम्म १६ सय ५० जनाभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।

तर चीनले आइतवार अर्थात्‌ लगातार तेस्रो दिन कोरोनाभाइरसको सङ्क्रमण घटेको घोषणा गर्दै सङ्क्रमण फैलिनबाट रोकिरहेको बताएको थियो। यो सङ्क्रमणमा बिरामीलाई श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ।

अर्कै घटनाक्रममा एउटा जापानी बन्दरगाहमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट झन्डै ४०० अमेरिकी नागरिकलाई स्वदेश लगिँदैछ।

उनीहरूमध्ये ४० जनामा नयाँ कोरोना भाइरसको सङ्क्रमण भएको अमेरिकाको न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले जनाएको छ।

प्रकाशित मिति: : 2020-02-18 02:38:46

प्रतिकृया दिनुहोस्