विकास भन्ने कुरा छिनभरमै हुँदैन : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास भन्ने कुरा छिनभरमै नुहने बताएका छन्। सुदूरपश्चिम प्रदेश सभा बैठकमा सम्बोधन गदैँ उनले कानून निर्माणमा भइरहेको ढिलाइले समस्या भएको बताए।

‘पहिलो वर्षमा कार्यालय व्यवस्थापनमा नै बित्यो। दोस्रो वर्ष पुग्दा कम्तिमा पनि विकासको जगसम्म हालेका छौँ’।’ उनले भने, ‘ अहिले साझा कानून तयार गर्न सङ्घीय सरकारले ढिलाइ गर्दा हामीलाई समस्या परेको छ।’

उनले बजेट खर्च कमजोर भएको स्वीकार गरे। तर यसको कारण कर्मचारी अभाव भएको बताए । ‘चालु आर्थिक वर्षको छ महिनामा १०.१८ प्रतिशत बजेट खर्च भएको छ। प्रदेश प्रहरी गठन हुन सकेको छैन। लोक सेवा विधेयक पारित भइसकेको छ, तर आफ्नै कर्मचारी भर्ना गर्न सकिएको छैन। सबै कार्य पुरा नहुँदा बजेट खर्च गर्न सकिएको छैन,’ उनले भने। 

२ वर्षमा तीन हजारभन्दा बढी योजना कार्यान्वयनमा रहेका उनले प्रदेश सभालाई जानकारी गराए। ‘दुई वर्षको अवधिमा ५ सय ६८ किलोमिटर सडकको ट्रयाक खुलेको, १ सय ८७ किलोमिटर ग्राभेल भएको र ६५ किलोमिटर सडक पक्की भएका छन्’ उनले भने।

डेढ घण्टा गरेको सम्बोधनमा उनले प्रदेशले गरेका काममा बढी जोड दिएका थिए। ‘कृषि, पर्यटन, जलस्रोत र जडिबुटी मात्रैमा काम गर्न सक्यो भने प्रदेश विकासको पथमा लम्किने छ’ उनले भने,‘त्यसका लागि प्रदेश सरकार चरणबद्ध रुपमा अगाडि बढ्ने गृहकार्यमा जुटिसकेको छ।’

उनकाअनुसार २०२ सिँचाइ र १४ खानेपानी आयोजना सम्पन्न भएका छन् भने २९२ योजना निर्माणाधीन अवस्थामा छन्। 

प्रदेश कृषिमा एकदमै सम्भावना भएकाले प्रदेश सरकारले पनि यसलाई प्राथमिकताका रुपमा राखेको बताए। उनले भने,‘९ वटै जिल्लामा पकेट क्षेत्रको घोषणा, कृषिमा आधुनिकीकरण, युग सुहाउँदो खेती प्रणालीलाई प्रदेश सरकारले महत्व दिएको छ, उत्पादन बढाउन माटो जाँच सेन्टर स्थापना गर्ने तयारी छ।’
 

प्रकाशित मिति: : 2020-02-20 01:52:25

प्रतिकृया दिनुहोस्