रोस टेलरले कीर्तिमान बनाएसँगै भारत सस्तैमा राेकियाे

बिएल संवाददाता

काठमाडाै‌ं

घरेलु टिम न्युजिल्याण्डविरुद्धको पहिलो टेष्टको पहिलो इनिङ्समा भारतले खराब सुरुवात गरेको छ।

विलिङटनमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको समाप्तिमा ५ विकेट गुमाएर १ सय २२ रन बनाएको छ। उसका लागि अजिका रहानेले ३८ रनमा अविजित खेले। यता ऋषब पन्त १० रनमा अविजित रहेका छन्।

यस्तै मायांक अग्रवाल ३४, पृथ्वी श १६,चेतेश्वर पुजारा ११, हनुमा विहारी ७ र कप्तान विराट कोहली २ रनमा पेभेलियन फर्किए।

न्युजिल्याण्डका केली जेमिसनले ३ विकेट लिए। टिम साउथी र ट्रेन्ड बोल्टले १/१ विकेट लिए।

रोस टेलरले बनाए नयाँ कीर्तिमान

न्युजिल्याण्डका ब्याट्सम्यान रोस टेलरले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन्। उनी आईसीसीको तीनवटै फर्म्याटमा १०० खेल खेल्ने पहिलो खेलाडी बने। अर्थात टेष्ट, ओडीआई र टी-२०आईमा एक सय खेल्ने खेल्ने पहिलो खेलाडीको कीर्तिमान उनले बनाएका हुन्।

यो उनको एक सयौँ टेष्ट क्रिकेट खेल हो। सयौँ टेष्ट खेलमा न्युजिल्याण्डले पहिले फिल्डिङ गर्दा टेलररले भारती कप्तान विराट कोहलीको क्याच समेत लिए।

न्युजिल्याण्डका लागि भने टेष्टमा १०० खेल खेल्ने उनी चौथो खेलाडी हुन्। यसअघि स्टेफेन प्लेमिङ, ड्यानिएल भेटोरी र ब्रेण्डन म्याकुलमले टेष्टमा १०० खेल खेलिसकेका छन्।

यसअघि उनले ओडीआईमा २३१ खेल खेलिसकेका छन् भने टी–२० मा पनि १०० खेल खेलिसकेका छन्।

सन् २००६ मा ओडीआई र टी–२० आईमा डेब्यु गरेका टेललरले त्यसको अको वर्ष टेष्टमा डेब्यु गरेका थिए। उनले ओडीआईमा वेष्ट इन्डिजविरुद्ध, टी–२० मा श्रीलंकाविरुद्ध र टेष्टमा दक्षिण अफ्रिकाविरुद्ध डेब्यु गरेका थिए।

यसअघि तीनवटै फर्म्याटमा ५० खेल पूरा गर्ने पहिलो खेलाडी न्युजिल्याण्डकै पूर्वकप्तान ब्रेण्डन म्याकुलम थिए। उनले २०१२ मा यो उपलब्धि हासिल गरेका थिए।

भारत दुई टेष्ट सिरिजका लागि न्युजिल्याण्डमा रहेको छ।

प्रकाशित मिति: : 2020-02-22 01:03:39

प्रतिकृया दिनुहोस्