प्रधानमन्त्री ओली दिनभरि नै जन्मोत्सव मनाउन व्यस्त (भिडियोसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिनभरि नै  ६९औँ जन्मदिनको शुभकामना ग्रहण गरेका छन् । ओलीका ९१ वर्षीय पिता मोहनप्रसाद छोरोलाई जन्मदिनमा आशीर्वाद दिन दुईदिनअघि नै काठमाडौँ आएका थिए, जसलाई लिएर प्रधानमन्त्री ओली आइतबार अपरान्ह हेलिकप्टरमा जन्मथलो तेह्रथुम पुगेका थिए ।

बिहान उनी नउठ्दै बालुवाटारमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले आयोजना गरेको ‘सर्पाइज बर्थ डे सेलिब्रेसन’ बाट सुरु भएको थियो । 

बालुवाटारको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित मन्त्रीहरू, नेताहरू उपस्थित थिए । 

प्रधानमन्त्री ओली जन्मदिन मनाउन हेलिकप्टर चढेर जन्मघर तेह्रथुमको आठराई (सल्लेरी) पुगेका थिए । उनको साथमा वयोवृद्ध पिताजी पनि पुख्र्यौली थलो पुगेका थिए । साथमा संसदीय दलका उपनेता नेम्वाङसहित केही सल्लाहकार पनि थिए । 

प्रधानमन्त्रीले आफ्नो जन्मदिन पारेर ताप्लेजुङ पुगेर माइक्राे हाइड्राेपावरको उद्घाटन गरे । त्यस्तै, आफ्नो जन्मथलो सल्लेरीबाट स्वर्गीय जननेता मदन भण्डारीको जन्मथलो ढुङ्गेसाँघु जोड्ने बाटोको पनि उद्घाटन गरे ।

प्रधानमन्त्री ओलीले १२ वर्षको उमेर छँदासम्म तेह्रथुमको सल्लेरीमै बिताएका थिए । ओली १२ वर्ष छँदा पिता मोहनप्रसादले जन्मघर बेचेर झापा झरेका थिए । उक्त घर आफू प्रधानमन्त्री भएपछि ओलीले पुनः किनेका थिए । स्रोतका अनुसार, उक्त घर प्रधानमन्त्रील्े पाँच लाख रुपैयाँ दिएर पुनः निखनेका हुन् ।

उनका सुभेच्छुक, मन्त्रीहरू र कार्यकर्ताले दिनभरि नै सामाजिक सञ्जालमा शुभकामना दिएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एउटा भिडियो नै बनाएर फेरबुक पेजमा शेयर गरेका थिए । सबैले प्रधानमन्त्रीको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् । 

प्रकाशित मिति: : 2020-02-24 07:54:19

प्रतिकृया दिनुहोस्