कमेडी च्याम्पियनबाट बाहिरिएका हुन् त ‘मेलोबाबा’ ?

बिएल संवाददाता

काठमाडाै‌ं

हाँस्य रियालिटी शो कमेडी च्याम्पियनको उत्कृष्ट तीनबाट विष्णुप्रसाद गौडेल (मेक्सम) उर्फ ‘मेलोबाबा’ बाहिरिएका छन्।   

उनी, अन्तिम चरणमा प्रवेश गर्नबाट बञ्चित भएका हुन्। उसो त, शोको छायांकन शनिबार भएसँगै मेक्सम बाहिरिएको चर्चा सामाजिक संजालमा नचलेको होइन।

तर, च्याम्पियनको टिमले भने यस बिषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन। स्यांङ्जाका मेक्सम समसामयिक विषयवस्तुलाई गहिरोसँग अध्ययन गरेर हास्यब्यङ्यमा ढाल्न सक्ने प्रतिभा भएका ब्यक्ति थिए। उनको प्रस्तुतिमा सामाजिक, राजनीतिक विषयको चेत रहेको कार्यक्रमका निर्णायकहरुले बताउँथे।  

फाइनल चरणमा रहेको कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' को सेटको एक तस्बिर सार्वजनिक भएको छ जसमा चार प्रतियोगीमध्ये विष्णु गौडेल देखिएका छैनन्।

तस्बिरमा कार्यक्रमकी निर्माता केकी अधिकारी, चारै जना निर्णायकसँगै अतिथिहरु देखिएका छन् जसमा प्रतियोगीमध्ये खड्गबहादुर पुन मगर, सुमन कोइराला र हिमेश पन्त देखिएका छन्।

भोटिङको आधारमा बनेको कार्यक्रममा मेक्समले यो हप्ता कम भोट प्राप्त गरेका कारण बाहिरीएका हुन्। कार्यक्रममा उनलाई भाइरल बाबा, सेलिब्रेटीको लाइफ स्टायल, टिकट पाउने नेता जस्ता प्रस्तुति दर्शकले अत्याधिक रुचाएका थिए। 

अब, कमेडी च्याम्पियनको उत्कृष्ट ३ मा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन्।

उत्कृष्ट ४ को प्रस्तुतीमा हिमेश ‘पर्फमर अफ दि राउण्ड’ बनेर टप ३ मा सुरक्षित बनेका हुन्।

यो शो आज बेलुकी प्रशारण हुँदैछ। तर, शो प्रशारण अगाडि नै मेक्सम बाहिरिएको खबर सार्वजनिक भएपछि दर्शकमा अन्तिम ३ मा को पुग्नेछन् भन्ने कौतुहलता भने रहने छैन।

प्रकाशित मिति: : 2020-02-25 02:10:39

प्रतिकृया दिनुहोस्