अमेरिकी राष्ट्रपतिकाे भारत भ्रमणकाे सन्देश

एजेन्सी

दिल्ली

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सोमबारदेखि सुरु भएको भारत भ्रमणले विश्व राजनीतिलाई प्रभावित पार्ने देखिएको छ। 

दुई दिने भारत भ्रमणका क्रममा उनले भारतका तीन शहर राजधानी नयाँ दिल्ली, आग्रा र अहमदाबादको भ्रमण गर्दैछन्।

गुजरातको मुख्य शहर अहमदाबादमा उनले १ लाखभन्दा बढी दर्शक अटाउने मोटारा रंगशालामा भारतीय समूदायलाई सम्बोधन गरिसकेका छन्। ‘नमस्ते ट्रम्प’ थिम राखिएको स्वागत कार्यक्रममा ट्रम्पले भारत अमेरिकाको साँचो साथी भएको र दुबै मिलेर आतंकवादविरुद्ध लडिरहेको बताएका थिए। 

अहमदाबादको कार्यक्रम सम्पन्न भएपछि उनी आग्राको ताज महलतर्फ लागेका छन्। भारत भ्रमणका क्रममा दुई देशबीच केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने बताइए पनि ट्रम्पको मुख्य उद्धेश्य आगामी राष्ट्रपतीय निर्वाचन रहेको छ। 

अमेरिकामा हाल ४० लाखको हाराहारीमा भारतीयमूलका अमेरिकी बसोबास गर्ने गर्छन्। गत वर्ष ह्युस्टनमा मोदी र ट्रम्पले अमेरिकामा बसोबास गर्ने ५० हजार भारतीयलाई सम्बोधन गरेका थिए। भारतले ट्रम्पकाे यस भ्रमणबाट अमेरिकी नेताको भारतलाई हेर्ने दृष्टिकोण परिवर्तन हुने जनाइएकाे छ।

ट्रम्पको भारत यात्रामा दुई देशबीच केही महत्वपूर्ण व्यापार सम्झौंतामा हस्ताक्षर हुने सम्भावना बलियो छ। स्याउ, अखरोट र चिकित्सा उपकरणको मूल्यमा असहमति, अमेरिकाको भारतको दुग्ध, कुखुरा र ई–वाणिज्य बजारमा अधिक पहुँचको लागि माग र अमेरिकी निर्मित हार्ले डेभिडसन मोटरसाइकलमा भारतीय ट्यारिफ घटाउनेबारे चलिरहेको छलफल ट्रम्पकाे यात्राले समाधान हुने आशा गरिएकाे छ।

यी दुई देशबीच चलिरहेको आर्थिक कारोबारको अवस्थामा अमेरिका र भारत सम्बन्धको रणनीतिक सम्भाव्यतालाई ध्यानमा राख्दै व्यापार सम्झौताको सम्बन्धमा ट्रम्पलाई झुकाउनु मोदी सरकारको बाध्यता छ। 

 

प्रकाशित मिति: : 2020-02-25 05:50:39

प्रतिकृया दिनुहोस्