कोरोना भाइरसबारे सरकारले तयारी गरेन: राप्रपा संयुक्त

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले कोरोना भाइरसबारे सरकारले आवश्यक सतर्कता नअपनाएको आरोप लगाएको छ। 

राप्रपा अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस भएका देशबाट नेपाल आउनेहरुको निगरानी नगरेको आरोप लगाएको हो। 

‘कोरोना भाइरसको संक्रमण विश्वव्यापी हुने लक्षण देखा परेको छ। यसबाट हालसम्म नेपाल बचेको छ। तर आउँदा दिनहरुमा यो संक्रमण नेपाल भित्र नआउला भन्न सकिँदैन। यस परिवेसमा नेपाल सरकार सतर्कता अपनाउन र तयारी गर्नेमा गम्भिरता देखिएको छैन। कोरोना भाइरस भएका देशबाट नेपाल आउनेहरुको निगरानी व्यवस्थामा ध्यान दिइएको छैन’, अध्यक्षद्वयको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरस नेपाल भित्र देखिएमा त्यसलाई नियन्त्रण गर्न चाहिने न्यूनतम हस्पिटल सुविधा तथा अन्य चाहिने उपकरण (जस्तै आपतकालिन औषधी, नर्सिङ्ग व्यवस्था, डाक्टरहरुको लागि सुरक्षा उपकरण, भाइरस निरोधक मास्क, हात र आँखामा प्रयोग गर्ने उपकरण इत्यादी) हरुको व्यवस्था गरिएको छैन। यसबारे सरकारको अविलम्ब ध्यान जाओस्।’

राप्रपाले सत्ताधारी दलले एक व्यक्तिको लागि संविधान संशोधन गर्न लागेको भन्दै आपत्ति समेत जनाएको छ। ‘अचानक अब एक व्यक्तिको लागि संविधान संशोधन गर्ने अभियानले यो सरकार र सत्ताधारी दलसंविधान ध्वस्त गर्न कसिएको स्पष्ट भएको छ’, राप्रपाद्वारा जारी विज्ञप्तीमा भनिएको छ। 
 

प्रकाशित मिति: : 2020-02-26 04:23:21

प्रतिकृया दिनुहोस्