बालुवाटारमा अध्यक्षद्वय ओली र दाहाल भेट्दै

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल केही बेरमा भेट्दै छन्।

बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रममा केन्द्रित रहेर छलफल हुने बालुवाटार स्रोतले बताएको छ।

दुई अध्यक्षबीच संविधान संशोधनका लागि वरिष्‍ठ माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरेको सार्वजनिक भएपछि नेकपामाथि भइरहेका आलोचना र त्यसको रक्षाका लागि पार्टीले तय गर्ने रणनीतिबारे छलफल हुनसक्ने बताइएको छ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने कसरतसँगै राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्ने गरी कार्यदल बनाइएको छ।

नेकपाका नेता सुवासचन्द्र नेम्वाङले संविधान संशोधन व्यक्तिगत विषय नभएको भन्दै कार्यदलको विषयमा पार्टीले आफूलाई कसैले केही नभएको बताउँदै आएका छन्।

त्यस्तै निर्वतमान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण पनि छलफल हुन सक्नेछ। यता एमसीसीका सम्बन्धमा सुझाव कार्यदलले बुझाएको प्रतिवेदन र नेकपाको भावी कदम पनि दुई अध्यक्षबीच छलफल हुन सक्नेछ।
 

प्रकाशित मिति: : 2020-02-26 21:41:31

प्रतिकृया दिनुहोस्