इटालीमा कोरोना: १२ जनाको मृत्यु, ४०० संक्रमित

एजेन्सी

काठमाडाैं

इटालीमा नोवेल कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमितको संख्या चार सय पुगेको छ।

थप ८० जनामा नोवेल कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि भएपछि इटालीमा संक्रमित हुनेको संख्या चार सय  पुगेको हो। २४ घण्टाभित्र संक्रमितको संख्या २५ प्रतिशतले बढेको छ।

युरोपका अरु देशमा पनि नयाँ संक्रमण पुष्टि भएको छ र त्यसको सम्बन्ध इटालीसँग देखिएको छ। इटालीको भ्रमण गरेर फर्किएकाहरुमा संक्रमण देखिएको युरोपका विभिन्न देशले बताएका छन्।

बीबीसीका अनुसार अस्ट्रिया, क्रोएसिया तथा स्वीट्जरल्यान्ड लगायतका देशमा पनि भाइरस देखिएको छ। समाचारमा उल्लेख भएअनुसार सबै संक्रमण इटालीबाट ती देशमा पुगेका व्यक्तिमा देखिएको हो।

यसैगरी ल्याटिन अमेरिकामा पनि इटालीबाट त्यहाँ पुगेका व्यक्तिमा भाइरस संक्रमण पुष्टि भएको छ। इटाली युरोपियन देशहरूमध्ये सबैभन्दा बढी भाइरस संक्रमित देश हो। 

इटालीमा अहिलेसम्म कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ। इटालीका उत्तरी क्षेत्रमा संक्रमण फैलिएको हो। ती क्षेत्रलाई क्वारेन्टाइनमा राखिएको भए पनि संक्रमण दर बढ्दै गएको छ। ११ वटा बजार क्षेत्र संक्रमणको केन्द्रमा छन् र त्यहाँका ५५ हजार मानिसलाई क्वारेन्टाइनमा राखिएको इटालीका स्वास्थ्य अधिकारीले बताएका छन्।

युरोपका अस्ट्रिया, क्रोएसिया, ग्रीस, नर्वे, स्वीट्जरल्याण्ड, जर्जिया र उत्तरी मेसेडोनियामा पनि संक्रमण फैलिएको छ। यस्तै स्पेन, फ्रान्स र जर्मनीमा थप मानिसमा संक्रमण पुष्टि भएको छ। बेलायतमा अहिलेसम्म १३ जनामा संक्रमण देखिएको छ।

युरोपबाहिर अल्जेरिया, ब्राजिल र पाकिस्तानमा पनि संक्रमण देखिएको छ। ब्राजिलमा एकजनामा संक्रमण पुष्टि भएसँगै नोवेल कोरोना दक्षिण अमेरिकी क्षेत्रमा पनि पुगेको छ।

मध्य पूर्वको इरानमा अहिलेसम्म १३९ जनामा संक्रमण पुष्टि भएको छ भने १९ जनाको ज्यान गइसकेको छ। यस्तै दक्षिण कोरियामा अहिलेसम्म १२ सयजनामा संक्रमण भएको छ भने १२ जनाको मृत्यु भइसकेको छ।

विश्व स्वास्थ्य संगठनले बुधबार चीन बाहिर पहिलोपटक तीव्र गतिमा कोरोना भाइरसको संक्रमण बिस्तार भएको बताएको थियो।

गएको डिसेम्बरमा चीनको हुबेइ प्रान्तस्थित वुहानमा पहिलो पटक नोवेल कोरोनाको संक्रमण देखिएको थियो। अहिलेसम्म चीन बाहिर झण्डै ४० देशमा संक्रमण फैलिएको छ।

चीनसहित विश्वभर गरेर झण्डै ८० हजार जनामा अहिलेसम्म कोभिड–१९ को संक्रमण पुष्टि भएको छ।
 

प्रकाशित मिति: : 2020-02-27 21:14:49

प्रतिकृया दिनुहोस्