नेपालकाे ब्याटिङकाे फेरि पाेल खुल्याे, मलेसियासँग २२ रनले पराजित

उपाधि जित्ने लक्ष्यका साथ थाइल्याण्डकाे बैंकक पुगेकाे नेपाली क्रिकेट टाेलीकाे पाेल खुलेकाे छ। शनिबारदेखि सुरु भएकाे एसीसी इस्टर्न रिजन टि–२० क्रिकेट प्रतियोगितामा मलेसियाले दिएकाे १ सय ५५ रनकाे लक्ष्य पछ्याउन नसक्दा नेपाल २२ रनले पराजित भयाे।  

बैंककस्थित ट्रेडथाई मैदानमा भएकाे खेलमा मलेसियाले पहिलाे ब्याटिङ गर्दै १ सय ५४ रन बनाएको थियाे। प्रत्युत्तरमा नेपालले निर्धारित २० ओभरमध्ये २ बल खेल्न बाँकी रहँदा सबै विकेट गुमाएर १ सय ३२ रन मात्र जाेड्याे। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले समान ३८–३८ रन बनाए पनि त्याे पर्याप्त भएन। पूर्वकप्तान पारस खड्का पनि ९ रनमा आउट भए। अन्य ब्याट्सम्यानमा पवन सर्राफले १९ रन बनाए। विनाेद भण्डारी ७, कुशल मल्ल ०, आरिफ सेख ५, करण केसी २ रन बनाएर आउट भए। 

सन्दीप लामिछानेले टि–२० मा सय विकेटकाे काेशेढुंगा (२ वर्षमा सन्दीपको सय विकेटको कोशेढुंगा) पुरा गरे पनि नेपाल पराजित भयाे। उनले पनि १ रन मात्र बनाए।  

यसअघि मलेसियाले सइज अजिज साइद मुबारककाे सर्वाधिक ५१ रनकाे सहयाेगले ६ विकेटकाे नाेक्सानीमा १ सय ५३ रन बनाएको थियाे। यस्तै अमिनुदिन राम्लेले २९ तथा मोहम्मद अनवर अरुदिनले ३१ रन जोडे। नेपालका लागि सन्दीपले ३ तथा अविनाश बोहराले २ विकेट लिए। करण केसीकाे नाममा १ विकेट रह्याे। 

प्रकाशित मिति: : 2020-03-01 06:12:11

प्रतिकृया दिनुहोस्