घाँटी दुखेर अस्पताल गएको म, कोरोनाको त्रासले बाथरूमै थुनिए...

पोर्चुगलमा पनि कम छैन कोरोनाको त्रास

चीनबाट सुरू भएको कोरोना भाइरसको त्रास विश्वभरि फैलिदैछ।

चीनको वुहान प्रान्तबाट शुरू भएको कोरोना युरोपसम्म आइपुग्न धेरै समय लागेन। इटाली, फ्रान्स, बेलायतसम्म संक्रमण हुनेको सङ्ख्या बढ्दैछ।

युरोपको सस्तो गन्तव्य मानिने इटाली र फ्रान्समा कोरोना भाइरसको बिरामी भेटिनु समग्र युरोपको लागि खतराको घण्टी हो।

भर्खरै ‘कार्निभल’ को बिदा सकियो! कयौं पोर्चुगलका स्कुले विद्यार्थी छुट्टि मनाउन इटाली पुगेर फर्केका प्रमाण उनीहरूले आफ्ना सामाजिक सञ्जालमा पोस्ट गरिएको फोटाहरूबाट प्रष्ट हुन्छ।

यो लेख तयार पार्दा सम्म पोर्चुगलको पोर्तो शहरमा ६६ र ३३ वर्षीय २ जना पुरूषमा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। उनीहरू दुवै छुट्टि मनाउन इटालीका विभिन्न शहर पुगेर फर्किएका थिए!

गत शुक्रबार यो पङ्तिकार पोर्चुगलको लिस्वन शहरदेखि केही परको सेतुवालमा रहेको स्वास्थ चौकीमा घाँटी दुखेर जचाँउन पुगेको थियो। बिहान ९ बजे पुगेर टिकट लिन खोज्दा टिकट सकिएको र अप्रिलमा आउन जानकारी गराए। मैले आफू २ दिनदेखि घाँटी दुखिरहेकोले सकेसम्म अहिल्यै जचाँउन पाए हुन्थ्यो भनेर अनुरोध गरेपछि ‘कतै यात्रा गरेको थियो?’ भनेर सोधे। मैले जनवरि दोस्रो हप्ता नेपाल गएर अन्तिम साता फर्किएको जानकारी दिएँ।

स्वास्थ चौकीको काउन्टरमा बस्ने २ महिला पोर्तुगिस भाषामा खासखुस गर्छन्! अनि मेरो रेसिडेन्सि माग्छन्।

१ जना बाहिर आउँछिन् र उनलाई पछ्याउन अनुरोध गर्छिन्। म ज्ञानी बच्चा झै पछिपछि लाग्छु। स्वास्थ चौकिको पछिल्लो ढोकाबाट छिरेर बाथरूममा गएर हात धुने इशारा गर्छिन्। म भित्र छिर्छु! हात धोएर नसक्दै बाहिरबाट ढोका लाइदिन्छिन् र डाक्टर नआउन्जेल पर्खन भनेर त्यहाँबाट हिँडेको आवाज आउँछ।

म एकछिन अलमल्ल परेँ। के गर्ने कसो गर्ने। सबैभन्दा पहिला काम गर्ने ठाउँमा फोन गरेर आफू बाथरूममा थुनिएको जानकारी दिने प्रयास गर्छु। तर, अतालिएको म त्यति गर्न धेरै समय लाग्यो। आफ्ना नजिकका ३ जना अरू साथिलाई म्यासेज गरेँ।

मैले ‘उनीहरूले मलाई कोरोना संक्रमण भएको शंका गरे’ भनेर बुझेँ! म हातमा लिएको मोबाइल समाल्न सकिनँ। थचच्क बाथरूमको भुइँमा बसेँ। त्यही लल्याङलुलुङ भएँ।

शरीरमा तागग रहेन। करिब आधा घण्टा के भयो थाहा पाइनँ। होसमा आउँदा फोन बजिरहेको थियो। कामबाट गरेको रहेछ। सबै कुरा भनेँ।

साथीहरूले पुलिसलाई र मिडियामा खबर गर्न अनुरोध गरे। मसँग ती सबै गर्ने तागत रहेन। केही बेरपछि उहीँ महिला आएर ढोका खोलिन्। बाहिर आउन भनिन्। म बेस्सरी झर्किएँ। पानी मागेँ। उनले कुनामा बस्न अनुरोध गरिन्। म बाहिर गएँ। पानी पिएँ। झोलाबाट एउटा केरा र स्याउ निकालेर खाएँ। अनि एक पटक आफूलाई छामेँ। अनि ढुक्क भएँ।

१० मिनेट जति बसेपछि डाक्टर मेरो नाम लिँदै आए। भित्र लगेर सबै चेकजाँच गरे। शरीरको तापक्रम नापे। ज्वरो नापे। अनि सबै कुरा सोधे। त्यसपछि डाक्टरले आफूले लगाएको मास्क खोलेर भने- ‘अहिले सबैजना डराएको छन्। विशेष गरी एसियन मान्छे, एसिया गएर आएको भनेपछि त पोर्तुगिसको सातो गयो। दुःख दिएकोमा पटकपटक माफी मागे। म रोउ कि, हासम् भएँ।

डाक्टरले ‘घाँटीमा इन्फेक्सन भएको छ। औषधि खानू’ भनेर लेखेर दिए। म जाने बेलामा फिस्स हाँस्दिएँ।

त्यहाँबाट निस्केपछि मैले आफू मास्क लगाएर जानू अनि भर्खरै नेपाल गएर आएको भन्नू आफ्नो गल्ति रहेछ भनेर बुझेँ।

तर, पोर्चुगल कोरोना भाइरससँग लड्न मानसिक रुपमा तयार छैन भनेर राम्रोसँग बुझेँ। काममा मलाई दिनहुँजसो ‘ओइ कोरोना’ भनेर बोलाउँछन्। म हाँसेर उडाउँछु।

यो विश्वव्यापी रुरूमा फैलिने क्रममा छ। हामी विशेषगरी विदेश बस्ने र सोही देशको भाषामा निपुण नभएको नेपालीको लागि अझ समस्या पर्नसक्छ!

कोरोनाबाट बच्न आफूलाई सम्भव भएसम्मका उपायहरु अपनाउनु बुद्धिमानी हुन्छ। पोर्चुगल युरोपको सस्तो पर्यटकीय गन्तव्य हो। अधिकांश नेपाली पर्यटन सम्बन्धि क्षेत्रमा आवद्ध छन्। लिस्वन सानो शहर छ। बस्ती बाक्लो छ।

सबै नेपाली आफू र परिवार सुरक्षित रहौं।

प्रकाशित मिति: : 2020-03-05 01:04:44

प्रतिकृया दिनुहोस्