ओशाने थोमसकाे घातक बलिङ, पहिलाे खेलमै वेष्ट इण्डिजसँग श्रीलंका पराजित

एजेन्सी

काठमाडाैं

 वेष्ट इण्डिजविरुद्धको पहिलो टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंका पराजित भएको छ।

बुधबार राति भएको खेलमा श्रीलंका पाहुना टोली वेष्ट इण्डिजसँग २५ रनले पराजित भएको हो।

वेष्ट इण्डिजले दिएको १ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ७१ रनमा समेटियो।

श्रीलंकाका कुशल परेराले ६६ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन बनाएका हुन्। यस्तै ३४ बलमा ४ चौका प्रहार गरेका बिन्दु हसरंगाले ४४ रन बनाए। 

वेष्ट इण्डिजका ओशाने थोमस एक्लैले ५ विकेट लिए। उनले ३ ओभर बलिङ गरेर २८ रनका साथ ५ विकेट लिएका हुन्। यता ४ ओभरमा ३१ रन खर्चिएर रोभम्यान पावेलले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन जोडेको थियो। वेष्ट इण्डिजका लेन्ड्ल सिमोन्सले अविजित रहदै ६७ रन बनाए। उनले ५१ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए।

 यस्तै आन्द्रे रसेलले ३५, केइरन पोलार्डले ३४ तथा ब्राण्डन किङले ३३ रन बनाए। 

श्रीलंकाका लाथिस मालिंगा,इसुरु उडाना, लक्क्षन सान्डकान र वानिन्दु हसरंगाले एक एक विकेट लिए।

जितसँगै वेष्ट इण्डिजले २ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।

प्रकाशित मिति: : 2020-03-05 19:54:41

प्रतिकृया दिनुहोस्