उपभोक्ता हित समिति र मानव अधिकार आयोगको टोलीले गर्‍यो ओमानको स्थलगत अवलोकन

संघीय संसद प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त टोलीले ओमानको स्थलगत अवलोकन गरेको छ। खाडि मुलुकमा रहेका घरेलु कामदारहरूको विद्यमान अवस्था, समस्या तथा समाधानको लागि चालिनु पर्ने कदम बुझ्नको लागि स्थलगत अवलोकन गरेकाे हो।

भ्रमण दलले ‌ओमानको शुरा काउन्सिल (प्रतिनिधि सभा)का अध्यक्ष खालिद विन हिलाल अल मावली र स्टेट काउन्सिल (राष्ट्रिय सभा) का अध्यक्ष याह्‌या विन महफौद अल मन्थरीसँग बेग्लाबेग्लै द्विपक्षीय भेटघाट गरेको थियो।

उक्त भेटघाटमा संसदको संरचना, संसदीय व्यवस्था, प्रतिनिधित्व तथा संसदमा मौजुद समितिहरूबारे छलफल भएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ। साथै, दुवै सदनको गरिमा, भूमिका तथा कानुन बन्ने प्रक्रियाबारे समेत छलफल भएको थियो।

दुवै सदनका अध्यक्षहरूले यसरी भ्रमण दलको आदानप्रदान गर्दा एक अर्काका राम्रा प्रयासहरू सिक्ने अवसर मिल्ने हुनाले भ्रमणको उच्च महत्व रहेको दर्शाउँदै ओमानको संसदको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए।  

त्यसैगरी भ्रमण टोलीले यहाँको परराष्ट्र मन्त्रालयका सचिव शेख खालिफा विन अलि अल हार्थी तथा परराष्ट्र मन्त्रालयका अन्य उच्चपदस्थ पदाधिकारीहरू तथा जनशक्ति मन्त्रालयका सचिवहमाद विन खामिस विन अब्दुल्लाह अल आम्रीको कार्यकक्षमा बेग्लाबेग्लै द्विपक्षीय भेटघाट गरेको ओमानकी राजदूत सर्मिला पराजुली ढकाले बताइन।

उनका अनुसार भेटमा भ्रमण टोलीले ओमानको श्रम सम्बन्धी विद्यमान कानुनी व्यवस्था, नेपाली कामदारहरूको बारेमा सरकारको बुझाई तथा कामदारको हकहितका सम्बन्धमा जिज्ञासा राखेका थिए।

भ्रमणको दोस्रो दिन भ्रमण टोलीले दूतावासको सेल्टरमा बसेका दिदि बहिनीहरूसँग पनि अन्तरक्रिया गरेको थियो। 

सोही दिन भ्रमण टोलीले ओमानको मानव अधिकार आयोगका अध्यक्ष शेख अब्दुल्लाह विन शुवैन अल होस्नीसँग भेटवार्ता गरी श्रमिकहरूको मानव अधिकारको सम्बन्धमा ओमान सरकार तथा ओमान मानव अधिकार आयोगले गर्ने गरेका कार्यहरूकोबारे जानकारी लिएका थिए।  

यस्तै शनिबार साँझ नेपाली दूतावासमा आयोजना भएको ‘ओमानमा रहेका घरेलु तथा अन्य नेपाली कामदारहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम’ मा सहभागिता जनाई ओमानमा रहेका श्रमिक तथा घरेलु कामदारका वास्तविक समस्या श्रमिकहरूबाटै सुनेका थिए। 
 

प्रकाशित मिति: : 2020-03-06 09:40:44

प्रतिकृया दिनुहोस्