बीपीको कुरा मानेर जेल गएको मान्छे हुँः फरमुल्लाह मंसुर

नेपाली कांग्रेसका नेता तथा पूर्वश्रममन्त्री फरमुल्लाह मंसुरले केही नेताहरुले निजी स्वार्थको लागि पार्टीलाई नै कमजोर बनाउने काम गरेको बताएका छन्। बीपी कोइलाराको इतिहास र विचार भुलेर पार्टीलाई कमजोर र नेता–कार्यक्रताहरुलाई निरास बनाउनेतर्फ लागेको उनले बताएका हुन्। 

नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्र मुम्बईले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले पार्टीलाई कमजोर बनाउन खोज्नेहरु सच्चा कांग्रेसीहरुको भावनामाथि खेलवाड गरिरहेका बताए। कांग्रेसका नेताहरुलाई ब्यक्तिगत लाभ र कुनै नेताको बिरोध गर्ने नाममा पार्टीको गौरवपूर्ण इतिहास र संस्थापकहरुको विचारकाविरुद्ध नलाग्न उनले आग्रह गरे। 

‘म बुबाको कुरा नमानेर, खेतमा नगएर बीपीको कुरा मानेर जेल गएको मान्छे हुँ। कोइरालाप्रतिको मेरो आस्थाले राष्ट्र र जनताप्रति जिम्मेवारबोध बनाएको छ’,मंसुरले भने।

उनले नेपालीहरुले नेपालका बिभिन्न राजनीतिक, आर्थिक र सामाजिक आन्दोलनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए।

वर्षौ पहिले नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको सहभागितामा मुम्बईमा गठन गरिएको नेपाली जनसम्पर्क समितिको तत्कालिन उदेश्य, समिति गठन गर्दाका चुनौती र पछिल्लो समय प्रवासी नेपालीहरुबाट कांग्रेसले गरेको अपेक्षा लगायत बिषयमा चर्चा गरे।

भारतमा बसोबास गर्ने नेपालीहरुका समस्याहरु समाधानका लागि कांग्रेस र नेपाली जनसम्पर्क समिति भारत सधैभर प्रवासी नेपालीहरुको साथ र सर्मथनमा रहेको मंसुरले बताए।

उनले सरकारका लागि कांग्रेस प्रतिपक्षको रचनात्मक भुमिकामा रहेको दाबी समेत गरे। पछिल्लो समय बाहिर आइरहेका बिभिन्न काण्डहरु कांग्रेस कै निगरानीमा जनतासामू आएको समेत नेता मंसुरले जिकिर गरे। 

कम्युनिष्ट पार्टीले नेतृत्व गरेको सरकार संस्थागत भ्रष्टाचारमा लागेको उनको आरोप छ। ‘मन्त्रीहरु नै भ्रष्टाचारमा डुबेपछि अब जनताले प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारबाट के र कस्तो समृद्धिको अपेक्षा गर्ने?,’ उनले सरकारलाई प्रश्न गरे।

नेता मंसुरले बालुवाटार जग्गाको निर्णय तत्कालिन माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वका सरकारले गरेको दाबी गरे। प्रधानमन्त्रीय पद्धती भएको मुलुकमा मन्त्रीहरुको निर्णयहरुको नैतिक जिम्मेवारी समेत तत्कालिन प्रधानमन्त्रीहरुले लिनुपर्ने उनले बताए। 

यस्ता काण्डहरुमा कांग्रेसको कुनै संलग्नता नरहेको स्पष्ट पारे। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा सभासद मधु शाही, नेपाल बिद्यार्थी संघ केन्द्रीय सदस्य मेघा शाही, युवा समाजसेवी दिलिप आचार्य लगायतको सहभागिता रहेको थियो।
 

प्रकाशित मिति: : 2020-03-07 01:12:40

प्रतिकृया दिनुहोस्