बार्सिलोनाको जर्सीमा बदलिएको गरिब डेनिस परिवारको भाग्य

दीप सुवेदी

काठमाडाैं

मेराे खेल यात्रा– भाग २

सानोमा उनको सपना थियो, स्पेनिस क्लब रियल मड्रिडको सेतो जर्सी पहिरिने। उनी सुत्दा पनि रियलको त्यो चहकिँलो जर्सीमा विपक्षी गोल पोस्टभित्र बल नचाइरहको देख्थे। फुटबल खेलप्रति उनी यति पागल भइसकेका थिए, एकदिन सुतिरहेको बेला बल सम्झेर आमाबुवालाई नै लात्तले हानेछन्। उनको यो व्यवहार बुवालाई फिटिक्कै मन परेन। तर, आमा भने साह्रै खुसी भइन्।

यसको पनि कारण थियो– छोराले केही नगरेपनि बुवा जस्तै कराते खेलाडी भएर जिविकोपार्जन गर्न सक्छ भन्ने आमाको विश्वास। त्यसैले आमा खुब प्रेरित गर्थिन, छोरालाई कराते खेल्न। तर, उनको दिमागमा कराते छिरोस् न। भकुण्डाेबाहेक अन्य कुनै खेल घुस्दै घुस्दैँन्थ्यो।  

मार्टिन क्रिस्टनसेन ब्रेथवेट, बार्सिलोनामा हालै अनुबन्धित २८ वर्षीय डेनिस स्ट्राइकर। जसलाई रियलको प्रतिद्धन्द्धी क्लब बार्सिलोनाले ४ वर्षको लागि १ करोड ८० लाख पाउन्डमा आवद्ध गरेको छ। उनी बार्सिलोनामा अनुबन्धित हुने अहिलेसम्मकै महंगा डेनिस खेलाडी हुन्।

उनको बुवा किथ अफ्रिकी देश गुयानामा जन्मिएका थिए। त्यसैले सन् २०१३ मा ब्रेटवेथलाई डेनमार्कको राष्ट्रिय टोलीबाट जर्जीयाविरूद्ध मैत्रीपूर्ण खेलमा ‘डेब्यु’गर्नुभन्दा एक वर्षअगाडी नै गुयानाबाट खेल्ने प्रस्ताव आएको थियो। तर, उनले मानेनन्। 

ब्रेथवेटको जन्म ५ जुन, सन् १९९१ मा डेनमार्कको दक्षिणपश्चिमी तटीय शहर इस्बर्गमा भएको हो। उनको परिवार धार्मिक प्रबृत्तिका थिए। त्यसैले डेनमार्कमा रहेको सबैभन्दा ठूलो रोमन क्याथोलिक चर्च ‘सेन्ट मार्टिन’ को नामबाट ब्रेथवेटको नाम मार्टिन जुराइएको हो। उनको बीचको नामसँग जोडिएको क्रिस्टेनिसनको अर्थ हो, क्रिश्चियनका छोरा। जुन आमापट्टीको हजुरबुवाको नामबाट उनले पाएका हुन्। 

ब्रेथवेटका बुवा किथ कराते गुरु पनि हुन्। उनले गुयानीहरूलाई आत्मरक्षाको जुक्ति सिकाउँथे। डेनिस भएपनि आमा हाइडी गृहणी थिइन्। त्यसैले परिवारको आवश्यकता पूर्तिगर्न उनीहरूलाई हम्मेहम्मे नै थियो। तर पनि अभावका बीच यो परिवारले आफ्नो सन्तान ब्रेथवेट र उनको बहिनी माथिल्डेलाई राम्रो शिक्षा प्रदान गरेको थियो। 

ब्रेथवेट सानैदेखि तीक्ष्ण बुद्धिका थिए, जिद्धि पनि उस्तै। उनलाई सानैदेखि फुटबलमा निकै रुचि थियो। रियलका हालका प्रशिक्षक जिनेदिन जिदान उनको आर्दश खेलाडी हुन्। उनी सानैमा भन्ने गर्थे, ‘म रियलको ठूलो फ्यान हुँ। मलाई सेतो जर्सीमा फुटबल नचाउने टोली खुब मनपर्थ्याे।’ 

ब्रेथवेटको उपनाम ‘स्ट्रिट फाइटर’ पनि हो। उनी खुट्टा चलाउन निकै सिपालु भएको हुनाले आमा हाइडी छोराले बावुको पद्चाप सम्हाल्ने कुरामा ढुक्क थिइन्। आमाकै करकापमा परेर उनले केही समय बुवासँग करातेको गुण पनि सिकेका थिए। तर उनमा करातेप्रति कुनै रुचि थिएन। बुवाको मोजा होस् कि आमाले फ्याँकेको झुत्रो लुगा, बलको आकारमा पोको पारेर लातले हिर्काइहाल्ने।

घरमा भएको कुनै पनि सामानलाई फुटबल देख्नु उनको नियति नै बनिसकेको थियो। एकपल्ट त उनले स्टुललाई फुटबल सोचेर खुट्टाले हान्दा उनको नङ नै भाँचिएको थियो। 

पुरानो कुरा सम्झिँदा अहिले पनि दंग पर्ने ब्रेथवेट भन्छन्, ‘म सानोमा धेरै छुकछुके थिए रे। गोलो जे देखेपनि बल भनेर हानि हाल्ने। मेरो थुप्रै पल्ट खुट्टाबाट रगत आएको थियो।’

एकपल्ट उनको काका फिलिप माइकल माथिल्डे र इयान चान उनलाई देखेर चकित परे–जुन उमेरमा बच्चाहरू कोक्रोमा खेल्नुपर्ने हो। त्यो उमेरमा ब्रेथवेट गोलाकार कपडालाई लातले हानिरहेका थिए। उनको प्रतिभा देखेर फिलिपले सानैमा उनलाई सानो फुटबल उपहार दिएका थिए। 

ब्रेथवेटको जीवनले त्यति बेला नयाँ मोड लियो, जतिबेला उनी २ वर्षका मात्र थिए। एक पल्ट एकजना स्थानीय पत्रकार उनको घर आएका थिए। उनले आफ्नै आँखा अगाडी दुई वर्षको सानो फुच्चेलाई फुटबल खेलिरहेको देखेपछि क्यामरामा फोटो कैद गरे। जुन डेनमार्कबाट प्रकासित हुने एउटा पत्रिकामा भोलिपल्ट सार्वजनिक भयो। उनी रातारात सेलिब्रिटी भए। तर, फुटबल खेलाडी बन्न त्यति सहज थिएन। छैन पनि। 

वास्तवमा त्यही एउटा तस्बिरले परिवारको मनस्थिति पनि परिवर्तन भयो। हिजोसम्म छोरालाई कराते खेलाडी बनाउने सोच बनाएकी आमाको मन परिवर्तन भयो। बुवा पनि आफ्नो छोरामा केही प्रतिभा लुकेकोमा विश्वस्त भए। 

घरायसी माहौल आफूतर्फ बन्दै गइरहेको बेला ब्रेथवेटको जीवनले भने अर्को मोड लियो। तीन वर्षको उमेरमै उनको शरीरमा अस्वभाविक बृद्धि देखियो। हातखुट्टा लुला भए। पहिले त परिवारले खासै वास्ता गरेन। तर, बेथवेटलाई हिँडडुल गर्न असहज भएपछि परिवार फेरि झस्किँयो। पाँच वर्षको उमेरमा उनलाई डाक्टरले बैसाखी र एउटा ह्वीलचेयर नै थमाइदिए।

वास्तवमा उनलाई ‘लेग–काल्भ–पेर्थेस’ नामक रोग लागेको थियो, जुन रोग लागेको मानिसको हड्डी अस्वभाविक रूपमा विकसित हुन्थ्यो, जसले हिँडडुल गर्न गाह्रो पर्थ्याे। यति बेला उनलाई आफ्नो सपना पुरा नहुने डर थियो। 

विगतको त्यो घटना सम्झँदै उनी भन्छन्, ‘ह्वीलचेयरमा बस्नु साँचै नै मेरो लागि गाह्रो थियो। मलाई ह्वीलचेयरमा बस्नुपर्छ भन्ने कुराको ज्ञान थिएन। जब म आमाबुवालाई सोध्न थाल्थे, उहाँहरू रुनु हुन्थ्यो।’ 

उनले लामो समय घरमै सुतेर बिताए। विद्यालय पनि जान सक्दैन्थे। खाली इश्वरसँग प्रार्थना गरेर बस्थे। ‘जसको कोही हुँदैन, उसको भगवान हुन्छ’ भने जस्तै ब्रेथवेटको प्रार्थना इश्वरले सुने। फलस्वरुप ६ महिनापछि उनका हड्डीमा परिवर्तन देखिन थाल्यो। उनी पुनः आफ्नो सपना पुरा गर्ने अभियानमा जुटिहाले।

फुटबलप्रतिको उनको यो समर्पण देखेपछि परिवार नै उनलाई फुटबल खेलाडी बनाउने अभियानमा जुट्यो। जसको नतिजा हो, उनी डेनमार्कको सबैभन्दा महंगो खेलाडीको रूपमा बार्सिलोना क्लबमा हाल आवद्ध छन्। 

सानोमा किथ घण्टौं आफ्नो छोराको अभ्यास हेरेर मैदानमा समय बिताउँथे। किथको इच्छा थियो–छोरा ब्राजिलका स्टार रोनाल्डो जस्तै खेलाडी बनोस्। ‘मलाई कराते सिकाउने बुवाले एक्कासी फुटबल सिकाउँदा आश्चर्य लाग्थ्यो,’ उनी भन्छन्। 

ब्रेथवेट ७ वर्षको उमेरमा स्थानीय रोस्टर क्लबमा भर्ना भएका थिए। यसपछि उनी सेडिङ गुलडाजर इड्रोस्टरफारनिङ हुँदै इस्बर्गमा आवद्ध भए।

डेनिस लिगमा उनको प्रभावशाली खेलका कारण उनलाई सन् २०१३ मा फ्रान्सको टुलुस क्लबले २० लाख डलरमा आवद्ध गर्यो। यसपछि उनलाई इंग्लिस क्लब मिडल्सब्रोगले आँखा लगायो र उनी रिभरसाइड हानिए। बार्सिलोनाले गत महिना उनलाई आफ्नो क्लबमा अनुबन्धित गर्नुअघि उनी लेगानेसमा आवद्ध थिए।

यो सिजन बार्सिलोनाको लगातारको खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक अर्नेस्टो भालभर्डे बर्खास्त भए। उनको स्थानमा नोउ क्याम्पले अढाई वर्षका लागि रियल बेटिसका पूर्वप्रशिक्षक केके सेटियनलाई नियुक्त गर्‍यो। सेटियन पहिलेदेखि नै ब्रेथवेटको खेलबाट प्रभावित थिए। उनले क्लबका अर्का प्रभावशाली खेलाडी ओसोमाने डेम्बेले चोटका कारण लामो समय उपलब्ध नहुने भएपछि ब्रेथवेटलाई क्याटलान क्लबमा भित्र्याए। 

अहिले ब्रेथवेटको घरमा खुसीको माहौल छ। कुनै बेला आर्थिक समस्याबाट घेरिएको ब्रेथवेट परिवार छोराको मिहिनेत र फुटबलप्रतिको लगावका कारण आफ्नो शहरको सबैभन्दा सम्मानित परिवार बन्न पुगेको छ। 

एलन सिमोनसेन, माइक लाउड्रप, थोमस किश्चिययनसेन र रोनी एकेलुन्डपछि बार्सिलोनको जर्सी लगाउने पाँचौ डेनिस खेलाडी हुन्, ब्रेथवेट। 

उनले एइबारविरूद्ध ‘डेब्यू’ खेलमै दुई वटा गोलका लागि बल मिलाए, जसमा बार्सिलोनाका कप्तान लिओनल मेसीलाई गोलका लागि मिलाइदिएकाे बल अहिले चर्चामा छ। उनकाे पासमा गाेल गरेपछि मेसीले ब्रेथवेटलाई मैदानभित्रै अंकमाल गरे। 

मेसीको त्यो अंकमालले ब्रेथवेटको रियलप्रति सानोमा रहेकाे दृष्टीकोणमै परिवर्तन आएको छ। अहिले उनी रियलको चिरप्रतिद्धन्द्धी बार्सिलोनाको मात्र होइन, मेसीको पनि फ्यान भएका छन्। त्यसैले उनी खेलपछि भन्दै थिए, ‘फुटबल मैदानमा मेसीले जे गर्न सक्छन्, त्यो अरु कसैले गर्न सक्दैन। यदि फुटबल धर्म हुन्थ्यो भने मेसी पक्कै त्यसको भगवान हुनेथिए। किनभने उनी सम्पूर्ण खेललाई सन्तुलनमा राख्न माहिर छन् र उनी उत्कृष्ट खेलाडी हुन्।’

मेरो खेल यात्रा– भाग १
मेसी र रोनाल्डोलाई पछ्याउँदै १९ वर्षीय हालान्ड
 

प्रकाशित मिति: : 2020-03-08 07:42:47

प्रतिकृया दिनुहोस्