इटालीमा देशव्यापी नाका बन्द, सबै खेल गतिविधि स्थगित

एजेन्सी

काठमाडाै‌ं

कोरोना भाइरस अर्थात कोभिड–१९ को सङ्क्रमण फैलने क्रम तीव्र बनेपछि इटलीमा देशभरिका नाका बन्द गरिएको छ। सङ्क्रमणको दर उच्च बनेपछि इटलीको सबै २० वटा प्रान्तमा आपत्कालिन अवस्थाबाहेक हिँडडुल गर्न प्रतिबन्ध लगाएर देशव्यापी क्वारेन्टाइन घोषणा गरेको बीबीसीले जनाएको छ।

इटलीका प्रधानमन्त्री ज्युसेप कोन्टेले आपत्कालिन अवस्थाबाहेक कोही पनि घरबाट बाहिर ननिस्कन र समाजका कमजोर सदस्यको रक्षा गर्दै भाइरसको सङ्क्रमण रोक्न सरकार लागिपरेको बताएका छन्।

इटलीमा गएको २४ घण्टामा थप ९७ जनाको ज्यान गएपछि कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ६३ पुगेको छ। यस्तै सङ्क्रमितको सङ्ख्या ९ हजार एक सय ७२ पुगेको इटली सरकारले पुष्टि गरेको छ।

यता अप्रिल ३ सम्म सबै सिरि एका खेल गतिविधि स्थगित भएका छन्। तर ईटालीको क्लब र राष्ट्रिय टिमले भने अन्तराष्ट्रिय प्रतियोगितामा खेल्न पाउनेछन्।

सिरि ए फुटबलको खेलहरु यसअघि बन्द रंगशालामा खेलाउने निर्णय भएको थियो। सोही अनुसार युभेन्ट्स र ईन्टर मिलानले दर्शक बिना बन्द रंगशालामा खेलेका थिए।

यता बिहिबार युरोपा लिगमा ईटालियन क्लब रोमा र सेभिल्लाबीचको खेल बन्द रंगशालामा खेलाइनेछ।

प्रकाशित मिति: : 2020-03-10 20:18:05

प्रतिकृया दिनुहोस्