कुनै बेला डाक्टरी छाडेर राजनीति गर्न हिँडेका मणिन्द्ररञ्जन

सिरहाको बस्तीपुर हालको गोविन्दपुरमा जन्मिएका डा. मणीन्द्र रञ्जन बराल पेसाले चिकित्सक हुन्। 

उमेरले ८० वर्ष कटिसकेका बरालले नेपाल मेडिकल कलेज काउन्सिलका अध्यक्ष, नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्षलगायत धेरै संघसंस्थाका अध्यक्ष र डाइरेक्टर बनेर काम गरिसकेका छन्। मूलतः उनी चिकित्सा क्षेत्रमा बालरोग विशषज्ञका रूपमा परिचित छन्।

उनले वीर अस्पताल, बालकान्तिलगायत सरकारी अस्पतालमा काम गरे। अहिले पनि उनी काठमाडौं मेडिकल कलेजमा बालरोग विशेषज्ञका रूपमा कार्यरत छन्। चिकित्साबाहेक वाद्यवादन र लेखनका क्षेत्रमा पनि उनको उत्तिकै रुचि छ। सुप्रबल गोरखा दक्षिण बाहुलगायत दर्जन बढी पुरस्कारबाट सम्मानित उनै बरालको ‘नियति र अनुभूति’ नामक पुस्तक बजारमा आएको छ।

नियति र अनुभूति बरालको जीवन भोगाइको कथा हो। लामो समय चिकित्सालगायत अन्य क्षेत्रमा सक्रिय रहँदा आफूले देखेभोगेका अनुभूति र घटना सरल भाषामा यस पुस्तकमा उल्लेख गरिएको छ। आठ दशक लामो जीवन, पाँच दशक लामो डाक्टरी पेसाका अनुभव यस कृतिमा पाइन्छन्। साथसाथै कतैकतै साहित्य, संगीत र राजनीतिमा जोडिएको प्रसंग पनि रोचक ढंगले पुस्तकमा वर्णित छ। 

पुस्तकले ८० वर्षको लामो इतिहास बोकेको छ। बरालकोे बाल्यकालमा बिताएको ठाउँ बन्दीपुरका सम्झना र अनुभूतिलाई सचित्र वर्णन गरिएका छन्। त्यहाँको सामाजिक बनोट, धर्म, संस्कृति र मूल्यमान्यता तथा आर्थिक र राजनीतिक जीवन प्रस्तुत गरिएको छ।

साथै त्यतिखेरको सामाजिक मेलमिलाप, सामाजिक बनोट, भजनकीर्तन, दसैंतिहारलगायत पर्वमा हुने रमाइला क्षणका साथै पर्वका अवसर पारेर हुने रामलीलालगायत नाटक बढ्दो हिन्दी गीतको प्रभाव पनि पुस्तकमा स्मरण गरिएको छ। यस पुस्तकमा बालसुलभ व्यवहार, उपद्रो र क्रिडाले पाठकलाई बाल्यकालीन अनुभूतितिर डोर्‍याउँछ।

यस पुस्तकभित्र सिरहा जिल्लाको इतिहास, आर्थिक अवस्थाका साथै विकासमा योगदान पुर्‍याउने व्यक्तिबारे पनि चर्चा गरिएको छ। साथै परिवारको नालीबेलीका साथै दाजु ईश्वर बरालको साहित्यिक यात्रा र उनैबाट आफूभित्र लेखनकलाको प्रभाव परेको कुरा पुस्तकमा उल्लेख छ।

त्यति मात्र होइन गिरी र बराल परिवारको इतिहास, विशिष्ट योगदान र नेपाली राजनीति र समाजमा पुर्‍याएको योगदानबारे चर्चा पाइन्छ। बस्तीपुरका गिरी परिवारका विशिष्ट व्यक्ति प्रदीप गिरी, रुद्रप्रसाद गिरी, तुलसी गिरी, डा. जयनारायण गिरीलगायतबारे पनि सामान्य परिचय दिइएको छ।

केही समय नेपालमै अध्ययन गरेर त्यसपछि दार्जिलिङमा क्रिस्चियन धर्मावलम्बीको स्कुलमा बाहुनको छोरो टुप्पी हल्लाउँदै केही समय बाइबल पढ्दै गरेको प्रसंग अत्यन्त रोचक छ। त्यसपछि त्यहाँबाट भागेर बनारसको सेन्ट्रल हिन्दु स्कुलमा भर्ना भएर आर्ईएस्सीसम्म अध्ययन गरे प्रसंग अनि नेपाल सरकारको कोलम्बो प्लानअर्न्तगत भारतको ग्लासियरस्थित विक्रम युनिभर्सिटीमा एमबीबीएस सकेर नेपाल फर्किएपछि केही समय जागिरको खोजिमा भौतारिए कुरा पुस्तकमा चर्चा छ।

२०१८ सालमा जेल अस्पतालमा उपचार गर्न थाल्दा तारणीप्रसाद कोइरालालगायत राजनीतिज्ञलाई जेलमा भेटेर उपचार गरेको कुरा पुस्तकमा स्मरण गरिएको छ। वीर अस्पतालमा बालरोग विभागमा काम गर्दा बालरोगमा दक्षता मात्र नभएर रुचिसमेत बढाएकाले बालरोगमै विशेषज्ञता हासिल गर्न बेलायतको विगत उल्लेख गरिएको छ।

‘मेरो राजनीतिक यात्रा’ शीर्षकमा उनले २०५१ सालको प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुँदा आफूले पराजय भोगेको नमिठो क्षणलाई पुस्तकमा स्मरण गरेका छन्। साथै पुस्तकभित्र आफूले अपेक्षा गरेको विजय यात्रा जनताको मनोविज्ञान र राजनीतिज्ञको कुटिल चाल र राजनीतिक हतकण्डाको मर्मस्पर्सी वर्णन पाइन्छ।

नामले मात्र चुवाव जित्न सकिँदैन यसका लागि साम, दाम र दण्डको नीति अख्तियारी  गर्नुपर्ने रहेछ भन्ने बुझेर राजनीतिम बिराम लगाउँदै आफनै पवित्र पेसामा फर्किएको कुरा पुस्तकमा उल्लेख छ। 

पुस्तकमा ‘केही अविस्मरणीय यात्रा: देशदेशावर’ शीर्षकमा देशविदेश यात्राका क्रममा देखिएका रमाइला प्रसंग जोडिएका छन्। विदेश यात्राका क्रममा देखेभोगेका घटनाले पुस्तक रोचक बनाएको छ। सिङ्गापुर, थाइल्यान्ड, बेलायत, जापान, हङ्कङ, अमेरिका उत्तर कोरियालगायत देश भ्रमणका क्रममा देखेका त्यहाँको सामाजिक, राजनीतिक तथा आर्थिक स्थितिको वर्णन पुस्तकभित्र समेटिको छ।

विदेश यात्रा क्रममा आइपर्ने समस्या र अप्ठ्याराबारे रोचक ढंगले वर्णित छ। ती देशका नीतिनियम, भाषा, संस्कृति र विकासबारे पुस्तकमा उल्लेख गरिएको पाइन्छ भने ती देशलाई उचाइमा पु¥याउन योगदान दिने त्यहाँका राजनेताका साथै जनता र देशप्रतिको लगावलाई उल्लेख गरिएको छ। पुस्तक पढ्दा आफैं भ्रमण गरिरहेको चित्र मानसपटलमा देखापर्छ। साथै यात्रा क्रममा भोगेका रमाइला प्रसंगले पुस्तकलाई पठनीय बनाएको छ।

यस पुस्तकमा भातीय कलाकार अमिताभ बच्चनदेखि नेपाल–भारतका प्रचलित व्यापारिक घरना, नेपालका राजनीतिज्ञ सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, कीर्तिनिधि विष्ट, मनमोहन अधिकारीलगायत व्यक्ति सम्बद्ध प्रसंग पनि कोट्याउने प्रयास गरिएको छ।

पुस्तकमा ‘भारत यात्रा र तीर्थाटन’ शीर्षकमा चारधाम यात्राको वर्णन गरिएको छ।साथै नेपाल र भारतका थुपै पवित्र धार्मिकस्थलबारे पनि पुस्तकभित्र चर्चा गरिएको छ।

पुस्तकमा जीवन यात्रासँग आबद्ध नियति र अनुभूतिलाई यथार्थ चित्रण गर्ने जमर्को गरिएको छ। अध्ययन क्रममा वनारस र ग्वालियरमा बिताएको समय, त्यहाँको सांगीतिक माहोल हिन्दी सिनेमाका प्रसंग पनि पुस्तकमा समेटिएका छन्। यस पुस्तकले कर्तव्यपथतिर अग्रसर हुन प्रेरणा दिन्छ, आत्मविश्वास बढाउँछ र आफ्नो उद्देश्यप्रति दृढ प्रतिज्ञा रहन आह्वान गर्छ।

पुस्तकभित्र कुनै कुनै दोहोरिएका सन्दर्भले पाठकलाई कताकता अलमल्याउन सक्छ तर पुस्तकभित्रका उल्लेखित अनुभव र अनुभूतिले पुस्तक पठनीय बनाएको छ। 

नियति र अनुभूति बरालको आत्मकथा मात्र नभएर २०औं शताब्दीका बौद्धिक चिन्तनका साथै सामाजिक र राजनीतिक परिवर्तनका पाटा खोतलिएको इतिहासको संगालो हो। साथै नेपाली सामाजिक जनजीवन, लोकगीत संस्कृति र भाषा र संगीतबारे सरल भाषामा परिष्कृत शैलीमा रचिएको पुस्तक अत्यन्त रोचक र उत्साहबद्र्धक तथा शिक्षाप्रद छ।

प्रकाशित मिति: : 2020-03-11 05:48:00

प्रतिकृया दिनुहोस्