तराईमा शाकाहारीले हाेली मनाउँदै

रंगहरुको पर्व होली बुधबार तराईमा मनाइदै छ। विधिवत रुपमा तराईमा होलीका दहनको भोलीपल्ट खुशीयालीको रुपमा यो पर्व मनाइन्छ। यसवर्ष फागु पुर्णीमा अर्थात होलीका दहन सोमबार परेकाले मंगलबारको होलीमा माछा मासु नखाने भएकाले होली बुधबारका लागि सारिएको हो।

होलीमा मासुको परिकारलाई मुख्य रुपमा लिइन्छ। तराईतिर अधिकाश परिवारमा आइतबार, मंगलबार तथा बिहिबार माछा मासु नखाने भएकाले यस दिन होली पर्व परेको अवसरमा यसवर्ष त्यसको भोलीपल्ट मनाइएकाे हाे। 

तराईका जिल्लाहरुमा होली मान्ने तथा कुल देउताको विशेष पुजा गर्नेहरुले मंगलबार नै विधिवत फगुवा मनाएर आफ्ना अग्रजहरुको हाथबाट रंग अबिर लगाएर आशिर्वाद लिएका छन्। मंगलबारको फगुवामा होलीको शाकाहारी परिकार मालपुवा, करीबरी, मासको दालको पकौडा, दहिबारा, विभिन्न मिठाई लगायत फलफुल खाएर मनाइयो। 

बुधबारको होली बिशेष मांशाहारी हुने भएकाले यस दिनमा आफन्तजन साथीभाई तथा छिमेकीहरुलाई घरमा आमन्त्रित गरी रंग अबिर लगाएर बदाम नरिवल छोकडा दिनुका साथ मासुको परिकार खुवाइ फगुवा खेलिन्छ। यता बुधबारको फगुवाको लागी वीरगन्जका मासु पसलहरुमा मंगलबारको रातिदेखी नै ग्राहकको भिड थामि नसक्नु छ। भिडलाई नियन्त्रण गर्न तथा उपभोक्तालाई सहि दाममा मासु बिक्रि गर्नका लागि ठाउँठाउँमा प्रहरी समेत खटाइएको छ।  

यसैबीच होलीको अवसरमा प्रदेश २ सरकारले पनि मंगलबार र बुधबार दुईदिन सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारको बिदा सम्बन्धी क्यालेण्डर अनुसार फागुन २७ गते मंगलबार र २८ गते बुधबार सार्वजनिक बिदा तोकिएको देखिन्छ। 

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वको शुभकामना दिएका छन्। देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई होलीको शुभकामना दिँदै मुख्यमन्त्री राउतले सबैको सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना गरेका छन्। आपसी भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढंगले हर्षोल्लासपूर्वक होली पर्व मनाउन उनले विज्ञप्ती मार्फत् आह्वान समेत गरेका छन्।

प्रकाशित मिति: : 2020-03-11 21:44:51

प्रतिकृया दिनुहोस्