जन्मदिनको शुभकामना!

जन्मदिनको शुभकामना सुस्वास्थ्य दिर्घायुको कामना। जन्मदिनको शुभकामना दिने क्रममा दिईने शुभकामना। जन्मदिन वास्तवमा हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छ। केक काटेर क्यान्डल फुकेर निभाएर जन्मदिन मनाउने चलन पश्चीमी सभ्यताको छ।

पूर्वीय सभ्यता र चलन हेर्ने हो भने जन्मदिन मनाउने चलन खासै पाईँदैन। तर, यदा कता जन्मोत्सव मनाउने गरेको पाईन्छ। तर, दिन प्रति दिन पश्चिमी सभ्यताको चलन हाम्रो देशमा पनि बढ्दो रहेको छ। आज हरेक मानिसले गच्छ अनुसारको जन्मदिन मनाउन थालेका छन्। के साना के ठूला सबैको जन्मदिन आज मनाउन थालेको सामाजिक सन्जालले पनि बताउँछ।

सानो छँदा बुबाआमाको रहर छोराछोरीको जन्मदिन केक र क्यान्डल बालेर  मनाईदिनु भन्ने हुन्छ। ठूला भए पछि आफ्नै रहर बन्छ, यसरि नै यो  एउटा संस्कार जस्तै बन्दै गएको छ जन्मदिन। यो संस्कारको शुरुवात कहाँबाट भयो होला भन्ने मेरो जिज्ञासा रह्यो। गुगलमा खोजेँ एक वेवसाइटका अनुसार जन्मदिन मनाउने चलन पेगन परम्पराबाट आएको रहेछ।

महत्वपूर्ण दिन १ वर्ष वुढो हुने दिनमा दुष्ट आत्माहरू हानी गर्नको लागि लुकेर बस्छ। अनि साथिभाइ, परिवार जम्मा भएर रमाइलो गर्दा दुष्ट आत्माहरू जन्मदिन हुने व्यक्तिको नजिक आउन पाउँदैन भनेर रमाईलो गर्न थालिएको रहेछ।

ग्रिकहरूले प्रत्येक मानिसको आत्मा जन्मदिनमा भगवानसँग विशेष रुपले जोडिन्छ भन्ने विश्वास राख्दा रहेछन्। पछि त्यही चलन विश्वभर फैलिएको रहेछ। हाम्रो समाजमा हेर्ने हो भने हुने खानेले जन्मदिन उल्लासमय तरिकाले मनाउने गरेका छन् हुँदा खानेका लागि जन्मदिन के हो के भन्ने रहेको छ।

आज मिति २०७६ साल फागुन २९ गते। यो मितिमा धेरैको जन्मदिन हुन सक्छ। त्यस मध्ये मेरो पनि जन्मदिन आजै हो। आज भन्दा ४२ वर्षअघि आजैका दिन म दोस्रो सन्तानका रुपमा यस धर्तीमा जन्मिएँ। दोस्रो सन्तान भए पनि पहिलो छोरा जन्मिएकोमा परिवारमा अत्यन्तै खुसी छाएको थियो।

संघर्षमय जीवन, अभावको जीन्दगी बाबजुत मेरो जन्मले परिवारमा खुसी ल्याउनु सन्तानको प्राप्ति नै मान्नु पर्छ। बयालिसौं बसन्त पार गरिरहँदा मेरो एक पटक वुबाममीले मेरो जन्मउत्सव मनाई दिनुभयो। जुन दिन मेरो जन्म मिति कै दिन बार पनि मिलेको थियो। मलाई लाग्छ मेरो उमेरका साथीभाइले त्यो समय सायदै जन्मदिन मनाउने चलन थियो।

हामीले जानेका थिएनौं जन्मदिन मनाउन। संस्कार पनि थिएन। आजको समाज हेर्ने हो भने या आफ्नै परिवारमा हेर्ने हो भने हामीले आफ्ना छोरा छोरीको प्रत्येक वर्ष जन्मदिन मनाउँदै आएका छौं। हुँदा हुँदा स्कुल,अफिसमा समेत जन्मदिन मनाउन थालेको पाईन्छ। केटाकेटीले एक हप्ताअघि देखि नै चकलेटको डिमान्ड गर्न थाल्छन् साथी, मिसलगायतलाई स्कुल, अफिसमा लगेर बाढ्न।

समाजमा बढ्दो छ जन्मदिन मनाउने प्रचलन। सामाजिक सञ्जालले पनि प्रोत्साहन गरिरहेको छ जस्तो लाग्छ यस्ता प्रचलनलाई वढवा दिन।

के धनि के गरिब सवैले जन्मदिन मनाउन थालिएको छ। पक्का पनि आफू जन्म लिएको दिन हामीले भुल्नु हुँदैन त्यो दिन अत्यन्त महत्वपूर्ण नै मान्नुपर्छ। तर, जन्मदिनलाई मनाउने क्रममा देखासेखी गर्नु हुन्न।

संस्कार र संस्कृतिलाई संरक्षण गर्ने नाममा विकृति ल्याउनु हुन्न। हरेक व्यक्ति रमाउन चाहान्छ साथीसँग होस् या परिवारमा होस् रमाउने क्रममा जन्मदिन पनि मनाएरै गरिन्छ।

जन्मदिन मनाउँदा पक्का पनि मानिस खुसी हुन्छ। बुवाआमाको जन्मदिन मनाउँदा वाआमा झनै खुसी भएका हामी पाउँछौ जुन संस्कार चलन उहाँहरुको पालामा थिएन आज छोरा नातीले हजुरवा हजुरआमाको जन्मदिन मनाएर उहाँहरूको मुहारमा खुसी ल्याउने प्रयास गरेको पाइन्छ।

जन्मदिन मनाउने क्रममा मानिसले विभिन्न तवरले मनाउने गरेका छन्। कोही वृद्घाश्रममा गएर त कोही अनाथआश्रममा गएर त कोही रोगी दुःखीको सेवा गरेर त कोही घरमै केक काटेर जसरी भए पनि मानिस आफ्नो जन्मदिन महत्वपूर्ण तवरले मनाउने गर्छन्।

नेपालमा हरेक संस्कारको विकाससँगै भड्कीलो भन्दै गएको छ। महंगो बन्दै गएको छ। मानिसको हरेक दिन जन्मदिन पर्छ।

सामाजिक सञ्जालले त जन्मदिन को सूचनासमेत दिन थालेको छ। सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना तेतिकै आएको हुन्छ। सुभेच्छा शुभकामनाको आईरो हुन्छ।

एक जना साथी भन्दै हुनुहुन्थ्यो यो फेसवुकमा जन्मदिन लगायतका विभिन्न विषयमा शुभकामना दिन त, आफूले भ्याउन नसक्ने भए नदिउन भनो भने साथीहरूले के सोच्लान् दिनलाई आफूलाई फुर्सद हुँदैन त्यसको लागि एउटा मान्छे नै राख्नु पर्ला जस्तो भईसक्यो। फेसवुक खोल्यो बार जन्मदिनका कुरा आउँछन्।

यो सामाजिक सञ्जालमा देखिएको समस्या साथीले सुनाउनुभयो। जन्मदिनको अत्यन्तै महत्व हुन्छ। मेरो जन्म के का लागि? किन? भन्ने कुरालाई हामीले महत्व दिनुपर्छ।

मानिस नौ महिनाको गर्वको बसाई पछि यस धर्तिमा आउँछौं। आमाको पेटमा रहँदा आमाको सालनालबाट खाना पिना गरेको अवस्थामा जन्म पछि आमाको दुधले जिवन चलेको हुन्छ। समय सँगै प्रत्येक वर्ष, १ वर्ष वुढो हुँदै हामीले जन्मदिन मनाउँदै एक दिन मृत्यु शैयामा पुगिन्छ।

हाम्रो जन्मले के भयो? यो समाज र राष्ट्रका लागि हामीले के योगदान दिन सकौं। हालै हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनले पनि निकै चर्चा पायो। सदनमा समेत चर्चा चल्यो।

जन्मदिनको चर्चा यति विग्न चलेको राम्रो या नराम्रो हामीले समीक्षा गर्नुपर्छ। आमाको गर्वको नौ महिना अनि वावुको परिश्रम र मेहनतको प्रतिफल हाम्रो जन्मले यो धर्तिमा विश्वको जनसंख्यामा थपिँदा हामीले यो संसारमा योगदान दिनु पर्छ।

आज जन्मदिन भनेर भनिरहँदा मेरो ममि र वुवालाई सम्झन चाहन्छु ममि त मसँगै हुनु हुन्छ। तर, वुवा आज यस धर्तिमा हुनु हुन्न। तथापि वुवाको आशिर्वाद  र वुवाले देखाएका बाटा र सिकाएका शिक्षालाई कदापि भुल्ने छैन। वुवा ममीको चरणस्पर्स गर्दै जन्मदिनको आर्शिवाद ग्रहण गर्दछु।

जीवन एक सुन्दर अवसर हो। यो सुन्दर अवसर पाइने दिन हो जन्मदिन। जीवन पाएको दिनको स्मरण गर्दै मनाइने हरेक जन्मदिन विशेष हुन्छन्। जन्मदिनले व्यक्तिमा उर्जा र उत्साह ल्याइदिन्छ। जसले आगामी दिनको लागि शक्ति दिन्छ।

यो मेरो जन्मले आफ्नो लागि त अवश्यनै गरिन्छ। तर, यस समाज र देशका लागि समेत केही गर्ने अठोट म, मा रहेको छ अनि मात्र हाम्रो जन्म सिद्घ हुनेछ। त्यसैले जन्मदिनको त महत्व हुन्छ नै कर्मले पनि जन्मदिनलाई सार्थक बनाउनु पर्छ।

प्रकाशित मिति: : 2020-03-13 02:33:46

प्रतिकृया दिनुहोस्