चीनबाट फर्किएका १४ जना नेपाली सेना ‘सेल्फ क्वारेन्टाइन’मा, शंकास्पद बिरामीका लागि सेनाले गाड्यो टेन्ट

कोरोना भाइरसको ‘इपिसेन्टर’ चीनबाट फर्केका १४ जना नेपाली सेनाहरुलाई ‘सेल्फ क्वारेन्टाइन’मा राखिएको छ। सैनिक तालिमको क्रममा चीनमा रहेका उनीहरु कोरोना भाइरसका कारण तालिम रोकिएपछि स्वदेश फर्किएका थिए।

‘चीनबाट फर्किएका १४ जना सैनिक अहिले सेल्फ क्वारेनटाइनमा बसेका छन्,’ नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेले नेपालन्युजलाई जानकारी दिए, ‘उनीहरु सैनिक तालिम लिन चीन गएका थिए। कोरोना भाइरसका कारण तालिम बीचमै रोएिकपछि उनीहरु नेपाल फर्केका हुन्।’

चीनको पनि कोरोना भाइरस प्रभावित नभएको स्थानबाट उनीहरु स्वदेश फर्केका कारण ‘सेल्फ क्वारेनटाइन’मा मात्र राखिएको उनले बताए। उनले थपे, ‘उनीहरु सबै अहिले आ‍-आफ्नो घरमै सेल्फ क्वारेनटाइनमा बसेका छन्। अनलाइनबाट तालिम लिइरहेका छन्।’

नेपाली सेनाका थुप्रै अधिकृत तथा जवानहरु अहिले विभिन्न देशमा रहेका छन्। उनीहरुलाई स्वदेश फर्केपछि क्वारेनटाइनमा राख्न तथा नेपालभित्रै रहेका सैनिक अधिकृत तथा जवानमा कोरोना भाइरसको लक्षण देखिएमा उनीहरुलाई क्वारेनटाइनमा राख्न सेनाले भद्रकालीस्थित जंगीअड्डा परिसरमा टेन्टहरु गाडेको छ।

प्रकाशित मिति: : 2020-03-15 22:08:04

प्रतिकृया दिनुहोस्