बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका २५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ।
आयोगले मंगलबार वेपत्ताहरुको सूची सार्वजनिक गरेको हो। सरकारद्वारा द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले २०५२ सालपछि १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारेका व्यक्तिहरूको सूची सार्वजनिक गरेको आयोगका सुचना अधिकारी निराजन अधिकारीले बताए।
आयोगले सार्वजनिक गरेको वेपत्ता लिष्टमा सवैभन्दा बढि बर्दियाका छन्। उक्त जिल्लाबाट २ सय ५४ जना वेपत्ताको उजुरीमा छन्। मनाङ र मुस्ताङबाट भने उजुरी नपरेको आयोगले जनाएको छ।
सूचीमा मन्त्री बिना मगरको नाम
हालवाला खानेपानी मन्त्री बिना मगरको नाम सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिको सूचीमा रहेको पाइएको छ। बेपत्ता छानबिन आयोगको वेबसाइटमा राखिएको सूचीको १९० नम्बरमा बिना मगरको नाम समावेश छ।
आयोगका सूचना अधिकारी निराजन घिमिरेले हाल सम्पर्कमा आएका भएपनि द्वन्द्वकालमा बेपत्ता पारिएका सबैको नाम सूचीमा समावेश भएको बताए।
‘उहाँको नाम आंशिक बेपत्तामा समावेश हुनसक्छ, उहाँले आफैं उजुरी दिनुभएकाे हुनसक्छ’, सूचना अधिकारी अधिकारीको भनाइ छ।
उनका अनुसार परिपुरण तथा एण्टीमोटम फाराम भराउने काम अघि बढाउने आयोगको तयारी छ। योसँगै आगामी साउन महिनाबाट पीडकसँगको बयान, सव उत्खनन र डिएनए परीक्षणको काम अघि बढाउने कार्ययोजना छ।
आयोगको सूची अनुसार दाङमा १२८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०–४० जना बेपत्ता भएको उजुरी परेको छ।