प्रदेश २ नामाकरण : मतदान सम्पन्न, कांग्रेस र नेकपाको प्रस्ताव अस्वीकृत

बिमला गुप्ता

जनकपुरधाम

प्रदेश २ को नामाकरणका लागि मतदान सम्पन्न भएको छ। मतदानका लागि प्रदेश २ को नाम जानकी, मिथिला, मध्य प्रदेश र मधेश प्रदेश प्रस्ताव गरिएको थियो। 

जारी मतगणनाको पछिल्लो परिणामअनुसार जानकी प्रदेशमा ३७ मत र मिथिला प्रदेश २८ मत परेपछि दुवै नाम अस्वीकृत भएको छ। यता मिथिला–भोजपुरा राख्ने प्रस्ताव पनि अस्वीकृत भएको छ। नेपाली कांग्रेसले राखेको प्रस्तावको पक्षमा २८ मत  खसेको हो।प्रदेश–२ सभा सचिवालयका अनुसार विपक्षमा ७९ मत खसेको छ ।

अब केहीबेरमा मध्य मधेश प्रदेशको पक्षमा चुनाव हुँदैछ। मध्य प्रदेश र मधेश प्रदेशको गणना भने हुन बाँकी रहेको छ। 

सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् भने नेकपाले जानकी तथा कांग्रेसले मिथिला राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन्। 

नामका विषयमा सहमति जुटाउन दलहरु छलफलमा जुटेपनि सहमति हुन नसकेपछि मतदानमा गएको हो। सदर हुनको लागि ७२ मत खस्नु अनिवार्य हुने छ।  प्रदेशको नाम टुँगो लागेपछि राजधानीबारे चुनाव हुनेछ।

आज रातिसम्ममा प्रदेश २ ले नाम र राजधानी पाउने प्रदेश २ को प्रदेश सभाले जनाएको छ। प्रदेश २ को राजधानी जनकपुरधाम, विरगन्ज वा विरगन्ज लगायत आसपासका क्षेत्रलाई समेटेर तोक्ने प्रस्ताव भएको छ। 

प्रदेश २ मा १ सय ७ सांसद रहेकोमा संघीय समाजवादी पार्टीका ३१, राजपा नेपालका २५, नेकपाका ३२, कांग्रेसका १९ सांसद छन्। यसअघि नाम र राजधानी सहमतिमै टुंगो लगाउन र प्रस्तावमाथि छलफल गर्न सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरे पनि दलहरुबीच सहमति हुन नसकेपछि मतदान भएको हो।

प्रकाशित मिति: : 2020-03-18 05:54:22

प्रतिकृया दिनुहोस्