काेराेना संत्राशले अन्तर्राष्ट्रिय विमानस्थल सुनसान (भिडियाे)

दीप सुवेदी

काठमाडाैं

कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण त्रासका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बन्न थालेको छ। आन्तरिक तथा वाहृय उडानका लागि सधैं व्यस्त रहने एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान बनेको हो।

बुधबारसम्मको तथ्यांक हेर्ने हो भने ७० प्रतिशतभन्दा बढी यात्रुको चाप घटेको विमानस्थलका डिउटी अफिसर केशव भट्टराईले बताए। ‘अहिले ३० विमान आगमन, ३० विमान प्रस्थान गरिरहेका छन्’ भट्टराईले भने ‘पहिला ५२ देखि ५४ उडान हुन्थ्यो।’

उनका अनुसार अहिले सबैभन्दा बढी कतार एयरलाइन्सले ३ वटा उडान गरिरहेको छ भने दोस्रोमा दुबईले २ वटा उडान गरिरहेको छ।

सरकारले अनअराइभल भिसा वैशाख १८ सम्म बन्द गर्नुका साथै कतार लगायत साउदी अरबले नेपालबाट वैदेशिक रोजगारीमा आफ्नो देश आउन रोक लगाएपछि विमानस्थलमा यात्रुको चाप कम भएको उनले जानकारी दिए ।

अध्यागमन विभागले शुक्रबार सूचना जारी गर्दै सम्पूर्ण विदेशीलाई दिइने अन–अराइभल भिसामा रोक लगाइएको छ। आइतबारदेखि लागू हुने गरि अन–अराइभल भिसा रद्द भएपछि तेस्रो मुलुकबाट आउने यात्रुहरु राेकिएका छन्। विदेशी र स्वदेशी यात्रुहरु नेपालमा प्रवेश नगर्दा विमान कम्पनीहरुले उडान संख्या घटाएका छन्। यता नेपालका लागि पूर्व निर्धारित रुपमा टिकट लिएकाहरुले पनि यात्रा रद्द गरेका छन्।

विदेशबाट नेपाल आउने विदेशीले सात दिनअघिको स्वास्थ्य परीक्षणको प्रमाणपत्र विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा बुझाउनुपर्नेछ। त्यसैगरी विदेशमा रहेका गैरआवासीय नेपालीहरुले नेपाल भ्रमण गर्नैपर्ने भएका सम्बन्धित मुलुकमा रहेको कूटनीतिक मिसनमा सम्पर्क गर्ने र नेपाल पुग्‍नुभन्दा सात दिनअघिको स्वास्थ्य परीक्षण प्रमाणपत्र बुझाउनुपर्ने विभागले जारी गरेकाे सूचनामा उल्लेख छ।

यस्तै विभागले १४ मार्चपछि नेपाल आउने सम्पूर्ण विदेशी नागरिकले सेल्फ–क्‍वारेन्टाइनमा बस्‍नुपर्ने जनाएकाे छ। गैरआवासीय नेपाली नागरिकसहितका नेपालीहरुले भने १४ दिनसम्मको होम–क्‍वारेन्टाइनमा बस्‍नुपर्नेछ।

विदेशबाट नेपाल आउनेहरुको विमानस्थलमा चेकजाँच गर्दा तापक्रम बढी देखिएमा सिधै टेकु अस्पताल लैजाने व्यवस्था गरिएको छ।

यता कोरोना संक्रमण त्रासले आजबाट सुरु हुने तयारी भएको एसईई परीक्षा स्थगित भएको छ। सरकारले कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न बुधबार रोक लगाएको थियो।

त्यस्तै अप्रिल ३० सम्मका लागि सरकारले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिम र हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको छ।

प्रकाशित मिति: : 2020-03-20 01:42:28

प्रतिकृया दिनुहोस्