सरकार, भारतमा पनि नेपाली छन् !

दिपक चन्द

(मुम्बई)

लाखौं संख्यामा हामी नेपालीहरू भारतका विभिन्न शहरमा बसोबास गरिरहेका छौं। यतिबेला विश्व नै चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ ले घेरिएको छ।

यस्तो संकटमा मानिसको सोचमा खलबल र मनमा डर–त्रास पैदा हुनु स्वभाविक हो। खासगरी भारतका दिल्ली, मुम्बई, गोवा, राजपुर, बैंगलोर, पुनालगायतका शहरमा नेपालीहरू होटेल, रेस्टुरेन्ट र कम्पनीमा श्रम गरिरहेका छौं। यो हाम्रो बाध्यता हो, यसको समिक्षा फरक तरिकाबाट गरौंला। तर, पछिल्लो समय विश्वब्यापी रूपमा मन, मुटुहरु नै हल्लाएको कोरोना आंतकले भारतमा बस्ने नेपालीमा पनि त्रासको अवस्था सृजना भएको छ।
केही दिनअघि भारत सरकारको निर्देशनमा महाराष्ट्र राज्य सरकारले भारतीय बित्तिय नगरी मुम्बई लगायतका शहर‍मा कोरोना रोकथाम तथा सुरक्षाको विषयलाई लिएर सपिङ मल,  बारहरू,  रेस्टुरेन्ट, साना होटेल एवं पाँचतारे होटलहरू बन्द भएका छन्।

सरकारको यो निर्णयबाट हामी लाखौं नेपाली धेरै मारमा परेका छौं। जो यी पेशाहरुमा कार्यरत थियौं। आफूले कर्म गरेर आर्थिक लाभ लिने हाम्रो दैनिकीमा समेत कोरोना प्रभाव देखिएपछि– स्वभाविक रुपमा चिन्तित छौं।

यहाँ काम गर्ने कर्मचारीहरू कोही पछि तलब पाउने गरि बिदा भएका छन् त, कोही आसै मारेर जन्मभूमि फर्किनु परेको अबस्था छ। यो अन्यौलमा परिस्थिमा हाम्रो सहारा कोही पनि भेटिएन।

अरूबेला नेपाली श्रमिक  र कामदारहरुको अधिकारका गफ छाट्ने सयौं संख्यामा रहेका नेपाली संगठनको यतिबेला अत्तोपत्तो छैन। यो अवस्थामा ती संघ–संगठनहरू कहाँ र कसरी श्रमिकको सहयोग गरिरहेका होलान् – मेरो प्रश्न छ? बिएल नेपाली सेवामा प्रकाशित स्वास्थ्यकर्मी तथा साझा सद्भाव समूह भारतका प्रमुख गंगाप्रसाद भट्टराईद्वारा लेखिएको लेख मार्फत, यस्तो त्रसित अवस्थामा केही जान्ने अवसर पाइयो। यो कार्यप्रति मेरो सम्मान छ।

यता काम गर्ने अवस्था छैन। सामाजकि सञ्जालमा आएका हर खबरले मन चिस्याउँछ। यस्तो समयमा स्वदेश गएर आफन्त र परिवार भेट्ने चहान सबैमा हुन्छ र छ पनि। तर परिस्थिति हाम्रो अनुकुल बनिदिएन। थ्रुपै साथी–भाइहरू सामाजिक सञ्जाल तथा फोन मार्फत आफ्ना गुनासाहरु आफन्त र परिवार कहाँ सुनाउँने बाहेक अर्को बिकल्प छैन। देवी देवता गुर्हाने र कतिपय त साहित्यिक रचना मार्फत गुनासो पोख्नुपर्ने अवस्था बनिदियो।

नेपाल सरकार तथा नेपाल सरकारको प्रतिनिधि संस्था नेपाली राजदूतावास यतिबेला गहिरो निन्द्रामा छ। यता लाखौं नेपालीको लागि राजदूतावास नै छैन कि भन्ने लागिरहेको छ। सरकारका केही गलत कदम बिरुद्ध सामाजिक सञ्जालमा आफ्नो विचार  लेख्यो र बोल्यो भने कान ठाडो र आँखा तिखारेर हेर्ने अनि सरकारलाई भारतमा काम गर्ने लाखौं नेपालीको कुनै चिन्ता र चासो किन नभएको होला?

नेपाल सरकार र दिल्ली दूतावासलाई हाम्रो कुनै ठूलो अपेक्षा छैन –बेभसाइड सुचारू गर – उपयोगी सामाग्रीहरु शेयर गर्न र सामाजिक सञ्जाललाई प्रवासी नेपाली समक्ष सक्रिय बनाउन मेरो अनुरोध छ। हाम्रो पसिनाले चलेको मेरो देशमा केही समय पछि आर्थिक संकट आइपर्ने पक्का छ, किनकि, हाम्रो रकम नेपाल पुग्ने अवस्था छैन। हामीले काम गर्ने वातावरण नै छैन। नेपालीहरु घर फर्कने अवस्थामा छन्। कतिपय त अन्यौलमा परेका छन्।

महिना दिनको तलव घर पठाएर जीवन चलाउने हामीलाई ठूलो चिन्ताको विषय बनेको छ। काम गर्ने कम्पनी या होटेलले तलब नदिएपछि साथी–भाइको सहायताले गाउँ फर्किने संख्या पनि धेरै भएको गुनासोहरु सुनिन थालेको छन् – यस्तो समयमा कसलाई गुहार माग्ने? कसले सुन्ने हाम्रो दुःख?

प्रकाशित मिति: : 2020-03-20 03:13:12

प्रतिकृया दिनुहोस्