पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीन पक्राउ

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालिकोटका अभिषेक गिरी भनिने टेक लोहार रहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए।

गत फागुन २८ गते विस्फोट भएको थियो । सो दिन विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले मनोहरा सुकुम्वासी बस्तीबाट नेत्रविक्रम चन्द समूहका भक्तपुर जिल्ला सदस्य देवीबहादुर गुरुङलाई पक्राउ गरेको थियो।

सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि पूर्वसञ्चारमन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए। विस्फोटका बेला बाँस्कोटा भने निवासमा थिएनन्। उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन्। उनी आफ्नो निवास सरेका छैनन्।

प्रकाशित मिति: : 2020-03-21 00:14:47

प्रतिकृया दिनुहोस्