पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा एकजना पक्राउ

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सदस्य देव गुरुङ छन्। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले जडीबुटी क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ परेका गुरुङ प्रहरीको खोजी सूचीमा थिए। यसअघि उनीमाथि दुर्गा प्रसाईंको घरमा पनि विस्फोट गराएको आरोप छ।

भक्तपुरको लोकन्थीलीस्थित मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको उनको निर्माणाधीन घरमा बुधबार बिहान बम विस्फोट भएको थियो। घरको कम्पाउन्डमा गराइएको विस्फोटले पर्खालमा क्षति पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी एवं प्रवक्ता श्याम ज्ञवालीले जानकारी दिए।

सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि निवर्तमानमन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए। विस्फोटका बेला बाँस्कोटा भने निवासमा थिएनन्। उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन्। उनी आफ्नो निवास सरेका छैनन्।

प्रकाशित मिति: : 2020-03-12 01:04:08

प्रतिकृया दिनुहोस्