न्यूरोडमा हुनुहुन्‍छ ? पाको क्षेत्रमा हात धुन नबिर्सनुस् (भिडियोसहित)

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्व अस्तव्यस्त छ।

यो समाचार तयार पार्दासम्म विश्वभरमा १० हजार ४ सय ५० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ। लाखौं प्रभावित भएका छन्।

नेपाल सरकारले पनि कोरोना रोकथामका लागि उच्च सतर्क रहँदै तयारी थालिसकेको छ। आम मानिसमा कोरोनाको डरले डेरा जमाइसकेको छ।

यसैबिच राजधानीको न्युरोडस्थित ताम्राकार हाउसका भर्जिन मोबाइल पसले विवेक शर्मा ‘कोरोनासँग डराउने कि, कोरोनालाई हराउने’, भन्ने नारासहितको बोर्ड पसल अगाडि हिँड्ने बटुवा सबैले देख्ने गरि राखेका छन्।

सँगै पानीको धारा र सेनिटाइजर राखिदिएका छन्। यो बाटो भएर आउजाउ गर्नेले समय समयमा सेनिटाइजर र पानीले हात धोउन् र कोरोना भाइरसबाट केही हदसम्म बचौं र बचाऊ भन्ने सन्देश दिन लागेका छन्।

‘सर्वसाधारण कसैले डराउनुपर्ने कारणै छैन। बरू सजकता भने अपनाउनुपर्छ’, उनले बिएल नेपाली सेवासँग कुरा गर्दै भने।

अहिले कठामाडौंका विभिन्न ठाउँमा ह्याण्डवासको अवधारणा आए पनि त्यसको क्रेडिट आफूहरूले पाएको भन्दै उनी दंग छन्।

‘दिनमा हजारौं मानिस यहाँ आएर हात धुएर जान्छन्। यो दृश्य देख्दा आफूले पनि समाजलाई केही त दिन सकेँ कि जस्तो फिल हुन्छ’, सञ्चालक शर्माले भने, ‘यो मैले मात्रै होइन सक्ने जति सबै जनाले यसरीनै अभियान थाल्ने हो भने हाम्रो समाज कोरोनाको भयबाट मुक्त हुने थियो।’

सेनिटाइजर प्रयोग गर्दै गरेका दार्चुलाका अकबर ठगुन्ना सबै जनाले काठमाडौं छोडेर गए पनि आफू यही बस्ने बताउँछन्। ‘सबै जना काठमाडौं छोडेर घर जादैछन्। तर, म जान्नँ। किनकि, गाउँमा केही भइहाल्यो भने गाह्रो होला। तर यहाँ कमसे केही सुविधा त पायएला,’ उनले भने।

उनले सरकार पनि क्वारेन्टाइनको व्यवस्थाका लागि स्ट्याण्डबाइ रहेको भन्दै डराइहाल्नुपर्ने अवस्था नरहेको बताए।

‘पसल साहुले यसरी बाटोमा हिँड्ने बटुवाको लागि पानी र सेनेटाइजरको उपलब्ध गराएका छन्। शहरका अन्य ठाउँमा पनि यो सुविधा भए अझै राम्रो हुन थियो’, उनले भने।

मोबाइल पसलका सञ्चालक शर्माले आज आफूले यो ठाउँबाट सानो कामको सुरूवात गर्दा भोलि अरू ठाउँमा अरूले यस्तो काम गर्दै जाने बताए। ‘एउटा नागरिकले गर्ने कर्तब्य मैले गर्ने अवसर पाएँ’, उनले भने, ‘दुई महिनादेखि समाजमा कोरोनाको हल्ला सुनेर त्रर्सित हुने मात्रै होइन अब यसबाट कसरि जोगिन सकिन्छ भन्ने उपाय पनि सोच्नुपर्ने अवस्था आएको छ।’

आफू पनि यही राज्यको एउटा नागरिक भएकाले आफ्नो कर्तब्य पुरा गरेको भन्दै यस्तो कामबाट प्रेरित भएर अरूले पनि गरिदिए राम्रो हुन्थ्यो भन्ने विचार राखे।

विगत दुई सातादेखि न्यूरोडमा यस्तो काम गर्दै आएका उनले कोरोनाको तनाव नहटेसम्म जारी राख्ने बताए।

‘रोग भन्दा पनि खबर पहिला फैलिन्छ। यसैले सुनेका कुरामा नलागौं बरू कसरि बच्न सकिन्छ भनेर बहस गरौं’, शर्माले भने।

प्रकाशित मिति: : 2020-03-21 19:44:00

प्रतिकृया दिनुहोस्