भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुग्याे, पूरै दिल्ली ‘लकडाउन’ गर्ने तयारी

भारतमा कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ। बीबीसीका अनुसार हालसम्म २८३ जना संक्रमित भएका छन् भने २३ जना निको भएका छन्।

दिल्लीमा काोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले शनिबारदेखि थप कडा कदमहरु उठाएको छ। मुख्यमन्त्री अरविन्द केजरीवाल शनिबार आयोजित पहिलो डिजिटल पत्रकार सम्मेलनमार्फत दिल्लीमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाउन आदेश दिएका छन्। यसअघि बढीमा २० जनामात्र भेला हुन पाउने व्यवस्था थियो। 

त्यसैगरी केजरीवालले बिहानको मर्निङवाकलाई केही समयका लागि स्थगित गर्न आग्रह गर्दै आवश्यक परेको खण्डमा पूरै दिल्ली लकडाउन गर्न सकिने समेत जनाएका छन्। यसका अतिरिक्त केजरीवालले आगामी अप्रिल महिनामा विधवा, जेष्ठ नागरिक र दिव्यागंहरुका लागि पेन्सन दुई गुणाले वृद्धि गर्ने जानकारी दिएका छन्।

यसैबीच भारतमा कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले कोरोनाविरुद्धको रणनीतिमा परिमार्जन गर्दै स्वास्थ्य परीक्षणको दायरालाई थप फराकिलो बनाएको छ।  कोरोना परीक्षणको विधिलाई लिएर प्रश्न उठेपछि आईसीएमआरले रणनीतिमा परिवर्तन गरेको हो। नयाँ रणनीतिअनुसार अब श्वासप्रश्वासको समस्याका कारण अस्पतालमा भर्ना भएका सबै बिरामीको पनि कोरोना परीक्षण गरिने भएको छ।

यसअघि ज्वरो, खोकी र सास फेर्न गाह्रो लगायतका लक्षण देखिएको खण्डमा मात्र परीक्षण गर्नुपर्ने जनाइएको थियो। यसैगरी कोरोना संक्रमित मुलुकबाट फर्केका एवं संक्रमण लक्षण देखिएका व्यक्ति वा संक्रमितहरुको उपचार संलग्न स्वास्थ्यकर्मीहरुको मात्र त्यस्तो परीक्षण गर्ने गरिएको थियाे। तर, अब भने कोरोना पुष्टि भएका व्यक्तिको सम्पर्क पुगेका व्यक्तिदेखि सबैको परीक्षण गरिने भएको छ।

यसैगरी स्वास्थ्य मन्त्रालयले कोरोनाको शंका गरिएका बिरामीहरुलाई अनिवार्य रुपमा अस्पताल भर्ना गर्न र त्यसको जानकारी सरोकारवाला निकायहरुमा जानकारी गराउन पनि निर्देशन जारी गरेको छ।
 

प्रकाशित मिति: : 2020-03-22 11:05:00

प्रतिकृया दिनुहोस्