बिहारमा काेराेनका कारण पहिलाे व्यक्तिले ज्यान गुमाए, थप दुईमा देखियाे संक्रमण

कोरोना भाइरस अर्थात् कोभिड–१९ स‌ंक्रमणबाट भारतको बिहार राज्यमा पर्ने पटनामा एक ३८ वर्षिय एक व्यक्तिले ज्यान गुमाएका छन्। लामो समयदेखि पटनाकै एक स्थानिय अस्पतालमा उपचाररत ती ब्यक्तिकाे आइतबार ज्यान गुमाएका हुन्।  याेसँगै भारतमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ६ पुगेको छ। 

कोरोनाबाट पटनामा ज्यान गएकाे यो पहिलो घटना हो। यस्तै त्यहाँका थप दुई जनामा काेराेना पाेजेटिभ देखिएकाे स्थानिय अधिकारीहरुले जानकारी दिएका छन्। पछिल्लो केही दिनमा भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ। भारतमा कोरोना संक्रमितको संख्या ३४१ पुगेको छ भने २३ जना उपचारपछि घर फर्किएका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा केन्द्रदेखि लिएर राज्य स्तरको संस्थामा आइतबार ‘जनता कर्फ्यु’ अर्थात् सबै किसिमका गतिविधिलाई विश्राम दिने कोसिस गरिएको छ। 

प्रधानमन्त्री मोदीले भाइरस सङ्क्रमणको बढ्दो अवस्थालाई ध्यानमा राख्दै आइतबार सबै जनालाई घरमै रहन अपिल गरेका थिए।  

गएको शुक्रबारको भाषणमा उनले भनेका थिए, ‘आइतबार अर्थात् २२ मार्च तारिखमा बिहान ७ बजेदेखि राति ९ बजेसम्म सबै नागरिकहरुले जनता कर्फ्युलाई पालना गर्नुपर्छ। आवश्यक पर्दा मात्र घरबाहिर निस्कने गरौँ।’

यद्यपि औषधिजन्य र आवश्यक सामान बेच्ने पसलहरु पनि खुला रहनेछन्।  

प्रकाशित मिति: : 2020-03-23 01:40:00

प्रतिकृया दिनुहोस्