कोरोना भाइरसको नयाँ ‘इपिसेन्टर’ मानिएको इटालीलाई रुसी सेनाले पनि सहयोग गर्ने भएको छ। कोरोना भाइरसको लडाईंमा चीनपछि अब रुसले मेडिकल सहयोग प्रदान गर्ने भएको हो।
आइतबार राष्ट्रपति ब्लादिमिर पुटिनले इटालीमा मेडिकल सहयोग गर्ने प्रस्तावलाई अनुमोदन गरेको रुसी रक्षा मन्त्रालयबाट जारी विज्ञप्तीमा जनाइएको छ।
पुटिनले इटालीका प्रधानमन्त्री गुसेप कोन्टेसँग शनिबार फोनवार्ता गरेको क्रेम्लिनले जनाएको छ। रुसले रोग नसर्ने मोबाईल गाडीसहित विज्ञको टोली इटालीमा कोरोनाको निकै प्रभाव भएको ठाउँहरूमा पठाउँदैछ।
इटालीमा शनिबार मात्र ८ सयको हाराहारीमा मानिसहरूको निधन भएको थियो। अहिले कोरोना भाइरसका कारण इटालीमा मर्नेको संख्या ५ हजारको हाराहारीमा पुगेको छ।
रुसी रक्षा मन्त्रालयका अनुसार तत्काल आर्मीको मेडिकल टिमको आठ वटा मोबाईल ब्रिगेड, रोग सर्न नदिने विशेष गाडी र औषधी तथा उपचारजन्य सामान आइतबारदेखि नै इटाली पठाउन सुरु गरिएको छ।
कोरोनाबाट रुस पनि चोखो छैन। रुसमा ३ सय ६ संक्रमित फेला परेको छ। जसमा सबैभन्दा बढी मस्कोमा छन्। कोरोनाका कारण रुसमा हालसम्म एक जनाको मात्र निधन भएको छ।