कोरोनाबारे पूर्वतयारी झिनो

सरकारी अधिकारीहरूले कोरोनाको पूर्वतयारी बलियो भएको बताए पनि व्यावहारिक पक्ष भने झिनो र कमजोर देखिएको छ। कतिपय विशेषज्ञ र डाक्टरहरूले नै सरकारले पूर्वतयारीमा संयमता नअपनाएको भन्दै आलोचना गरिरहेको बेला सरकारको तयारी झन् कमजोर देखिन थालेको हो। हालसम्म तीन ठाउँमा कोरोना संक्रमितको उपचार गर्न सकिने योजनामात्रै सरकारको छ। टेकु, पाटन र बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमितलाई राखिने भन्दै सरकारी अधिकारीले बताउँदै आएका छन्। तर भयावह वा संक्रमितको संख्या धेरै भयो भने कहाँ लगेर उपचार गर्ने भन्नेबारे सरकारले राम्रो पूर्वतयारी गर्न सकेको छैन।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डाक्टर बाबुराम मरासिनीले सरकारको तयारी पर्याप्त नभएको जानकारी दिए। उनले अहिले बढी सचेतना अपनाउनु र पूर्वतयारी गर्नुपर्ने बेला भए पनि त्यसप्रति त्यति जोड नदिइएको बताए। ‘हामीकहाँ कोरोना देखियो भने स्थिति भयावह हुन्छ, त्यसकारण पूर्वतयारी र सजगतामा कुनै कमी राख्नुहुँदैन,’ उनले भने, ‘तर सरकारको तयारी पुग्दो छैन।’ डाक्टर रमेश आचार्यले सरकारले अहिले पूर्वतयारी र जनतामा सचेत हुन कार्य गर्न आवश्यक रहेको जानकारी दिए। उनले सरकारको फितलो नीति र काम गर्ने तरिकाले जोखिम निम्तिन सक्ने भन्दै यसतर्फ बढी ख्याल गर्नुपर्ने बताए। ‘यो सामान्य विषय होइन, ठूल्ठूला देशका लागि त यति कठिन बनेको रोग हामीकहाँ आयो भने के होला, त्यसकारण पूर्वतयारीमा कुनै कमजोरी राख्नुहुन्न,’ उनले भने।

प्रकाशित मिति: : 2020-03-24 00:15:02

प्रतिकृया दिनुहोस्