कोरोनाका कारण कम्बोडियामा ८५ नेपालीले क्यासिनोको जागिर गुमाए

नवीन अर्याल

काठमाडाैं

कोरोना भाइरसको न्युन प्रभाव रहेको पश्चिमपूर्वी एसियाली देश कम्बोडियामा विगत केही सातादेखि संक्रमण बढ्न थालेपछि ८५ नेपालीले क्यासिनोको आकर्षक जागिर गुमाउनु परेको छ। 

फ्रेबुअरीसम्म एक मात्र संक्रमणको घटना भेटिएको कम्बोडियामा दुई सातायता ह्वात्त संक्रमणकारी भेटिएका छन्। यसले कम्बोडियाली सरकारको द्धविधा बढाएको छ। केही दिनयता देखि यहाँ बसोबास गर्दै आइरहेका नेपालीहरू ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न थालेका छन्। 

राजधानी फोमपेन र पर्यटकीय क्षेत्र सेम रिपमा रेष्टुराँ व्यवसाय गरेर बसेका लालसिंह खड्का तीन दिनदेखि घरमै बसिरहेको बताउँछन्। एनआरएन कम्बोडियाका अध्यक्ष समेत रहेका उनी भन्छन्, ‘केही दिनअघि ३१ जना मात्र संक्रमणकारी थिए। आइतबार यो संख्या बढेर एकैदिनमा ह्वात्त ८६ पुगेको छ। त्यसैले सरकार २–३ दिनमा ‘लक डाउन’ गर्ने सोचमा छ।’

कोरोना भाइरसकै कारण कम्बोडियामा सय वटा क्यासिनो बन्द भएको उनले बताए। ‘क्यासिनो बन्द भएपछि स्वभाविक रूपमा नेपालीहरूले रोजगारी गुमाउने नै भए,’ उनले बिएल नेपाली सेवासँग भने, ‘८५ जना नेपाल फर्किसकेको तथ्यांक हामीसँग छ।’

उनले हाल अढाई सयको हाराहारीमा नेपालीहरू कम्बोडियामा रहेको र तिनीहरू सुरक्षित रहेको बताए। ‘सबै खाद्यान्न जम्मा गरेर ढुक्कसँग घर बसेका छन्। आत्तिनु पर्ने केही छैन। कुनै नेपालीलाई समस्या परेको खबर आएको छैन,’ उनले भने। 

यहाँ वैदेशिक रोजगारीमा आएका नेपालीलाई भने समस्या रहेको बताइएको छ। 
 

प्रकाशित मिति: : 2020-03-24 18:15:00

प्रतिकृया दिनुहोस्